Breaking

लम्बियो मनसुन, धान कहिले भित्र्याउने ? कति दिन पर्छ पानी ? मौसमविद्को यस्तो सुझाव


काठमाडौँ — सामान्यता मनसुन बाहिरिने समय अक्टोबर दुई अर्थात आजसम्म हो । तर यो वर्ष मनसुन बाहिरिने समय लम्बिएको छ । मनसुन बाहिरिने समय लम्बिएसँगै देशभर सामान्यदेखी भारी वर्षा भइरहेको छ । यो वर्षको मनसुन कहिले बाहिरन्छ त ? अक्टोबर–२ देखि मनसुन बाहिरिने विगत भए पनि यो वर्ष भने अझै केही समय मनसुन सक्रिय हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसुन बाहिरिन अझै दुई दिन समय लाग्ने देखिन्छ ।

मनसुन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न महाशाखाले आग्रह गरेको छ । मनसुन बाहिरिने बेला थप सक्रिय भएपछि किसानहरु चिन्तित भएका छन् । मनसुन सक्रिय भएसँगै पछिल्लो दुई दिनदेखी देशका विभिन्न स्थानमा हल्कादेखी भारी वर्षा भइरहेको छ । आगामी बुधवारदेखी भने सक्रिय रहेको मौसम विस्तारै बाहिरिने छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ। त्यसैले बदली छ। मौमविद्का अनुसार नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ। मौसम पूर्वानुमान महाशाखाले दुई वर्षअघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय आज अक्टोबर २ लाई अनुमान गरेको थियो। त्यसअघि भित्रिने समय जुन १० र बाहिरिने समय सेप्टेम्बर २३ थियो।

हरेक १० वर्षको विष्लेषण गरेर यसरी मिति अनुमान गर्ने गरिन्छ। पछिल्लो समय तोकेको मितिभन्दा ढिला गरी मनसुन बाहिरिने गरेको छ । मनसुन भित्रिन पनि ढिला गरिरहेको छ। यो वर्ष पनि मनसुन एक दिन ढिला गरी भित्रिएको थियो भने बाहिरिन पनि समय लाग्ने देखिएको हो ।

यो वर्ष नेपालमा जनु १४ अर्थात् जेठ ३१ मा मनसुन भित्रिएको थियो। तर त्यसको नौ दिनपछि मात्रै असार ८ गते मनसुन देशैभरी फैलिएको थियो। यसपालि मनसुनको सुरूआती समयमै पूर्वी नेपालमा भारी वर्षापछिको बाढी र पहिरोले वितण्डा मच्चाउँदा ठूलो धनजनको क्षति भएको छ।यो वर्ष बाढी–पहिरोबाट ६१ जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता छन् । मनसुन सुरू भएयताको बाढी पहिरोबाट ६९ जना घाइते भएका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाले जनाएको छ । बाढी–पहिरोबाट २ सय ४२ घरमा पूर्ण क्षति भएको छ भने ७ सय ११ घरमा आंशिक क्षति पुगेको छ । यो वर्षको बाढी–पहिरोबाट ६० जिल्ला प्रभावित बनेका छन् ।