खेलकुद

चीनमा चम्किएको नेपाली टोलीले भारतसँग बदला लिने, धुवाँदार व्याटिङको अपेक्षा, फेरि बन्ला नयाँ रेकर्ड ?


काठमाडौँ — झण्डै एक महिनाअघि एसिया कप क्रिकेटमा पहिलोपटक भारतसँग अन्तरराष्ट्रियएक दिवसीय खेलेको नेपालले मंगलबार पुनः भारतसँग पहिलो टी–२० खेल्दै छ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा सोमबार भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो । गत भदौ १८ गते एसिया कपको सुपर फोरमा पुग्न बाधक बनेको भारतविरुद्ध नेपाललाई बदला लिने राम्रो अवसर जुरेको छ ।

१९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा नेपालले मंगलबार भारतको सामना गर्ने निश्चित बनेपछि नेपाललाई यस्तो सुवर्ण अवसर मिलेको हो । त्यसैले टेस्ट मान्यता प्राप्त राष्ट्र भारतलाई पहिलो टी–२० को भेटमा नै स्तब्ध पारेर इतिहास रच्दै अन्तिम चारमा प्रवेश गर्ने दाउमा नेपाल छ । भारतीय बलर सामु उत्कृष्ट व्याटिङ गर्दै एसिया कपमा भारतको राष्ट्रिय टोलीविरुद्ध दोस्रो सर्वाधिक रन जोडेर सबैको ध्यान तानेको नेपाललाई मौसमले साथ नदिँदा नतीजा सुम्पिन परेको थियो । तर, हान्झाओमा भने खेलाडीहरुको जारी धुवाँधार व्याटिङलाई निरन्तरता दिँदै बदला लिने अपेक्षा गरिएको छ ।

आगामी बिहीबारदेखि भारतमा एकदिवसीय क्रिकेट विश्वकप सुरु हुने हुँदा भारतको पहिलो रोजाईको टोली भने अनुपस्थित छ । तर, राष्ट्रिय टीमबाट खेलिसकेका १२ खेलाडी स्क्वाडमा छन् । अन्तरराष्ट्रिय र ठूला मञ्चको अनुभव बटुलेका खेलाडीहरु सामु नेपाललाई आफ्नो बदला लिन त्यति सहज भने हुने छैन । उपाधि दावेदारसमेत रहेको भारतीय टोलीमा ठूला ठूला नाम कहलिएका खेलाडी सामेल छन् । राष्ट्रिय टोलीबाट चारवटा एकदिवसीय र ११ वटा टी–२० खेलिसकेका ऋतुराज गाइक्वाडले भारतको नेतृत्व सम्हालेका छन् भने उनीबाहेक टेष्ट खेलको समेत अनुभव बटुलिसकेका उदाउँदो २१ वर्षीय खेलाडी यशस्वी जैसवाल छन् । जैसवालले भारतका लागि पाँच टी–२० खेलिसकेका छन् ।

त्यस्तै विस्फोटक व्याट्स्म्यान रिंकु सिंह पनि भारतीया टोलीमा छन् । वाशिङ्टन सुन्दर, तिलक बर्मा शिवम दुवे, सहबाज अहमद जस्ता अन्तरराष्ट्रिय अनुभव भएका अलराउण्डर नेपालका लागि चुनौती हुने खतरा छ । अन्तरराष्ट्रिय खेलहरुमा आफ्नो बलिङको कौशल देखाईसकेका अनुभवी बलरहरु भारतीय स्क्वाडमा छन् । ३३ अन्तरराष्ट्रिय टी–२० मा ५० विकेट चट्काईसकेका अर्सद्वीप सिंहसँगै आभेष खान र क्रिकेटको सबै फम्र्याटमा भारतको प्रतिनिधित्व गरिसकेका मुकेश कुमारले तेज गतिको बलिङ कमाण्ड सम्हाल्दै छन् । यता लेगब्रेक गुगली फ्याक्न माहिर २३ वर्षीय रवि विस्नोइले स्पीनले नेपाली खेलाडीलाई दुःख दिन सक्छ । उनले १३ टी–२० मा १२ विकेट लिइसकेका छन् ।

प्रभसिम्रन सिंह, जितेश शर्मा र अलराउन्डर आकाश दीपसँग अन्तरराष्ट्रिय अनुभव नभए पनि विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा उनीहरुको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । विश्व क्रिकेट जगत्को मैदान र बाहिर पनि राज गरिरहेको भारतसँगको खेलका लागि उत्साहित हुँदै गर्दा नेपालका सामु भारतीय खेलाडीको प्रदर्शन र अनुभव दुवैको चुनौती भने रही रहने नै छ । यद्यपि, मंगोलियाविरुद्धको खेलमा कीर्तिमानको ओइरो र माल्दिभ्ससँग पनि राम्रो नतीजा निकालेको नेपाललाई पछिल्लो खेलले भने हौसला मिल्ने छ ।

भारतले भने सिधै क्वाटरफाइनलको खेल खेल्न लागेको हो । पदकको आश सहित चीन प्रस्थान गरेको नेपालले एकपछि अर्काे गर्दै ठूला प्रतियोगितामा आफूलाई उपस्थित गराउँदै गर्दा भारतलाई हराउन जादुयी प्रदर्शन भने गर्नै पर्छ ।पहिलो पटक एसियन गेम्समा सहभागी गराएको क्रिकेट खेलमा टेष्ट मान्यता प्राप्त राष्ट्र भारतसहितपाकिस्तान, श्रीलङ्का र बंगलादेश सिधै क्वार्टरफाइनल चरणमा पुगेका हुन् । यसका अतिरिक्त अफगानिस्तान पनि सिधै क्वार्टरफाइनल चरणमा पुगेको छ ।