देश

अनमोल केसीले फिर्ता गरे १० लाख


काठमाडौँ — अभिनेता अनमोल केसीले फिल्म ‘रावायण’का निर्मातालाई आफूले लिएको १० लाख रुपैयाँ फिर्ता गरेका छन् । आर्थिक लेनदेन विवादको मुद्दामा पक्राउ परेर आइतबार रिहा भएका अभिनेता केसीले सोमबार निर्मात्री सुप्रिया अर्थात् चन्द्रकला कटुवालको नाममा चेक काटेर रकम फिर्ता गरेका हुन् ।

नबिल बैंकमा आफ्नो नाममा रहेको खाताको चेक केसीले निर्मात्री कटुवाललाई दिएका हुन् । फिल्म ‘रावायण’को विवादमा निर्मात्री कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले केसीलाई शुक्रबार बेलुका भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । आइतबार केसीलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न तीन दिनको अनुमति दिए पनि अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको थियो ।

प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।