समाचार

होटेल व्यवस्थापन पढेका पद्मकन्याका विद्यार्थी दुबई र बहराइनका होटलमा इन्टर्नशिप गर्दै


काठमाडौँ– पद्मकन्या क्यम्पस बागबजारले स्नातक तहमा होटेल म्यानेजमेण्ट अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई नेपालसहित दुवई र बहराइनका होटलमा इन्टर्नशिपमा पठाउन थालेको छ । त्रिवि अन्तर्गतको पद्मकन्या बहुमुखी क्याम्पसले प्रथम समूहका विद्यार्थीहरुलाई नेपाल, दुबई र बहराइनका होटलमा इन्टर्नशिपमा पठाएको हो । होटेल व्यवस्थापनमा तीन वर्षको कोर्ष अध्ययन गरेपछि एक वर्ष होटल एवं पर्यटन क्षेत्रमा इन्टर्नशिप गर्नुपर्ने प्रावधान छ ।

पद्मकन्या क्यम्पसले विद्यार्थीहरुलाई विदेशमा इन्टर्नशिपमा पठाउँदा प्रतिविद्यार्थी पचहत्तर हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराएको छ । हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य बीमा व्यवस्थापनमा सो रकम उनीहरुले खर्च गरेको क्याम्पसले जनाएको छ । त्रिवि पद्यकन्या क्याम्पस स्नातक तह, होटेल म्यानेजमेण्टका निर्देशका उमेश रेग्मीले इन्टर्नशिपमा विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध दिएर विदेश पठाएको नेपालकै लागि यो नविन अभ्यास भएको बताउनु भयो ।

उहाँले कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीलाई होटल, पर्यटन एवं सम्बन्धित अन्य व्यवसायमा आवश्यक पर्ने ज्ञान, सीप प्रदान गरी दक्ष जनशक्ति तयार गर्नु रहेको बताउनु भयो । यसै शैक्षिक सत्रदेखि बीएचएम कार्यक्रमका विद्यार्थीहरुलाई अतिरिक्त कक्षा अन्तर्गत आधारभुत तहको चिनियाँ भाषा कक्षा सञ्चालन गरिने बताउनु भयो ।