काठमाडौँ — सुर्खेतमा रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको छात्रावासमा ८ वर्षीय बालक मृत भेटिएसँगै विद्यालय परिसर अशान्त बनेको छ । बालकको मृत्यु शंकास्पद रहेको भन्दै आफन्तले विद्यालय तोडफोड गर्नुका साथै आगजनी समेत गरेका छन् । पछिल्लो समय बढ्दै गएका यस्ता घटनाले संवेदनशील हुनु पर्ने विद्यालयमा नै विद्यार्थीहरु असुरक्षित बन्न थालेका छन् । पश्चिम नेपालको पहाडी जिल्ला सुर्खेतको वीरेन्द्रनगर शनिबार दिनभर तनावग्रस्त बन्यो ।
वीरेन्द्रनगर नगरपालिका ६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको छात्रावासमा ८ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला परेपछि कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर अशान्त बनेको हो । विद्यालयमा कक्षा दुईमा अध्ययनरत दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका घर भएका बालक सलाम पुलामी मगर शुक्रबार होस्टेलको खाटमा झुण्डिएको अवस्थामा फेला परेपछि विद्यालय परिसर तनावग्रस्त बनेको थियो । घटनापछि सुरु भएको आन्दोलनले उग्र रुप लिँदा आक्रोशित पीडितहरु विद्यालय तोडफोडमा उत्रिए भने विद्यालयले लापरवाही गरेको भन्दै पीडित आफन्तले कक्षाकोठा र होस्टेलमा आगजनी नै गरेका छन् ।
आन्दोलन उग्र बन्दै गएपछि वीरेन्द्रनगरमा यातायात अवरुद्ध हुनुका साथै विद्युत् आपूर्ति समेत बन्द भएको छ । आन्दोलनका कारण अशान्त बनेको वीरेन्द्रनगर बजारको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीलाई अश्रु ग्यासको प्रयोग नै गर्नुपरेको थियो । प्रदेश प्रहरीका अनुसार भड्किएको भीडलाई साम्य गर्न ७ राउण्ड अश्रु ग्यास प्रहार गर्नुपर्यो ।
घटना शंकास्पद रहेको र अनुसन्धान गरिने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक गोपलाचन्द्र भट्टराईले बताए । पीडितले विद्यालयका प्रधानाध्यापक र वार्डेनविरुद्ध कर्तव्य ज्यानमुद्धामा किटानी जाहेरी दिएपछि दुवैलाई प्रहरीले अहिले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाको घटनाबारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
पीडितको विरोधका कारण अनुसन्धानमा ध्यान दिनु पर्ने भए पनि उग्र बनेको भीडबाट अराजकता निम्तने खतरा भएको प्रहरीको भनाई छ । गएराति बालक मगरलाई छात्रावासको कोठामा झुण्डिएको अवस्थामा देखेपछि अन्य विद्यार्थीले विद्यालय प्रशासनलाई खबर गरेका थिए । आफन्तले घटना शंकास्पद रहेको भन्दै बालकको शव अहिलेसम्म उठाउन दिएको छैन । आफन्तले घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग गरेका छन् ।
केही साता अघि मात्रै पनि रुकुम पश्चिममा १३ वर्षीय बालिकालाई आत्महत्या दुरुत्साहन गरेको भन्दै प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै काठमाडौँकै विद्यालयको छात्रावासमा पनि १२ वर्षीय बालक मृत फेला परेको थियो । यसरी देशका विभिन्न ठाउँमा पटक पटक विद्यार्थीको रहस्यमय मृत्युको घटना बढ्दै गईरहेको छ । विद्यालय जस्तो संवेदनशील क्षेत्रभित्र नै अप्रिय घटना भईरहने क्रमलाई रोक्न स्थानीयदेखि केन्द्र सरकारले सुरक्षाको पाटोलाई ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया