विदेश

अमेरिका जान ज्यानको बाजी, यसरी जानुपर्छ भयानक जङ्गल पार गर्दै, ज्यानकै जोखिम मोल्दै नागरिक


काठमाडौँ — हरेक वर्ष विभिन्न देशबाट लाखौँको संख्यामा अमेरिका पुग्नेको जमात झन बढ्दो छ । यो वर्ष पनि औपचारिक होस् या ‘तल्लो बाटो’ अर्थात बाँगो बाटो रोजेर अमेरिका पुग्नेहरु ह्वात्तै बढेका छन् । ज्यानको बाजी नै राखेर पानामा र कोलम्बियाबीचको भयानक जंगल पार गरेर अमेरिका पुग्नेको संख्या गत वर्षको तुलनामा यो वर्ष ६२ प्रतिशतले बढ्यो । विभिन्न देशका मानिसहरु आफ्नो देश छाडेर अमेरिका किन पुग्न चाहन्छन् ? संसारभरका मानिसहरु अमेरिका जानकै लागि जस्तोसुकै त्याग गर्न पनि तयार हुन्छन् । अर्थात संसारका लागि अमेरिका एक सपनाको देश बनिसक्यो ।

भौतिक र आर्थिक उन्नतिमा मात्रै होइन, विज्ञान व्यवस्थापन र अरु विविध विधामा फड्को मारेको अमेरिकामा वर्षेनी लाखौँको संख्यामा मानिसहरु पुग्ने गरेका छन् । विश्व शक्ति राष्ट्रसमेत भएकोले पनि मानिसहरु अमेरिका पुग्न चाहन्छन्, चाहे औपचारिक बाटोबाट होस् या चलनचल्तीको भाषामा ‘तल्लो बाटो’ प्रयोग गरेर । अमेरिकालाई दुस्मन ठान्नेदेखि प्रतिस्पर्धामा उत्रिएका विश्वका मुलुकका नागरिकहरुको रोजाईको केन्द्र अमेरिका बन्दै गएको छ । अमेरिकाको अर्थतन्त्र र विकासलाई पछ्याइरहेका देशका नागरिकका लागि पनि अमेरिका पुग्न लालायित छन् । खास गरेर नयाँ पुस्ताको अमेरिका मोह अति उच्च छ । अमेरिका जान हवाई, जल, थल हुँदे जंगलको यात्रा प्रयोग गर्नेको संख्या पनि उत्तिकै छ ।

यो वर्ष मात्रै पानामा र कोलम्बिया बीचको भयानक जङ्गल पार गर्दै अमेरिका जाने आप्रवासीको संख्या चार लाख नाघेको छ । गत वर्षको तुलनामा यो संख्या ६२ प्रतिशतले बढी भएको पनामा सरकारले जनाएको छ । ड्यारियन ग्याप भएर अमेरिका जानु ज्यादै जोखिमपूर्ण मानिन्छ । किनभने यो बाटोमा घना जङ्गल छ । जङ्गली जनावरको डर उत्तिकै छ भने विभिन्न किसिमका खोलानाला पार गर्नुपर्छ । जोखिम यतिमा समाप्त हुँदैन ।

आप्रवासीलाई लुट्न आपराधिक गिरोहहरू जङ्गलमा नै बसिरहेका हुन्छन् । भाग्यवश उनीहरू लुटिएनन् भने पनि ती गिरोहले सुरक्षित बाटो देखाइदिने नाममा आप्रवासीहरूबाट पैसा भने असुलेरै छाड्छन । आप्रवासीका लागि दुई सय ६५ किलोमिटर लामो जोखिमपूर्ण ड्यारियन ग्यापको बाटो दक्षिण अमेरिकाबाट मध्य अमेरिका र मेक्सिको हुँदै संयुक्त राज्य अमेरिका पुग्ने प्रमुख कोरिडोर बनेको छ । पनामाका अधिकारीहरूलाई घना जङ्गल क्षेत्र ड्यारियन ग्यापमा मर्ने आप्रवासीहरूको वास्तविक संख्याबारे जानकारी छैन । उनीहरूलाई यससम्बन्धमा कसैले कुनै जानकारी उपलब्ध गराएको छैन तर धेरै आप्रवासीको यो कठिन यात्रामा मृत्यु हुने गरेको छ ।

पनामाको गृह मन्त्रालयले यो साता सम्म चार लाख दुई हजार ३० जना ड्यारियन ग्यापतर्फ गएको बताएको छ । कोलम्बियाबाट हरेक दिन चार हजार आप्रवासी त्यसतर्फ जाने गरेका छन । कोलम्बियबाट अमेरिका सपना लिएर जाने अधिकांशमा भेनेजुएला, हाइटी, इक्वेडर र कोलम्बियाका नागरिक छन् भने तिनमा केही चिनियाँ र अफगानिस्तानी भारतीय र नेपालीहरु पनि छन् । आप्रवासीहरूको आगमन यति ठूलो छ कि पनामाले देशका विभिन्न भागमा आप्रवासीहरूको लागि सहायता केन्द्रहरू स्थापना गरेको छ ।

गृहमन्त्री जुआन पिनोले थेग्नै नसकिने गरी आप्रवासीको बाढी आएको र आफूहरूले भरमग्दुर प्रयास गरिरहेको बताएका छन् । आप्रवासीहरूको थेग्नै नसकिने आगमनलाई नियन्त्रण गर्न पनामा सरकारले यसै महिनादेखि गैरकानूनी रूपमा आफ्नो भूमिमा प्रवेश गर्नेहरूलाई फर्काउन थालेको छ । यद्यपि त्यो नियन्त्रण हुन सकेको छैन । जो सपनाको भारी बोकेर अमेरिका पुग्छन्, त्यही भारीले थिचिएर मानसिक तनाव र आत्महत्याको बाटो रोज्न बाध्य हुनेहरुको संख्यामा पनि बढोत्तरी भएको देखिन्छ ।