Breaking

अनमोल केसी गएराति नर्भिकमा भर्ना


काठमाडौँ – आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी गएराति नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

छातीमा पीडा भएपछि उनलाई अस्पताल भर्ना गरिएको जानकारी उनी निकट एक फिल्म निर्माताले दिए । भक्तपुरको साँगामा बेलुका पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो ।

त्यहाँ उनलाई भेट्न उनी निकट फिल्मकर्मी पुगेका थिए । अनमोलको आगामी फिल्म ‘जेरी अनटप’का निर्माता सरोज न्यौपानेले छातीमा केही समस्या भएपछि अनमोललाई नर्भिकमा भर्ना गरिएको जानकारी दिए ।

अपराध महाशाखा पुगेका निर्माता न्यौपानेले आफूसँगको भेटमा अनमोलले ‘दाई बरु म जेलमै बस्छु तर, नराम्रो मूभी त गर्दिन’ भनेर बताएको सामाजिक संजालबाट जनाएका छन् ।
रावायण’ फिल्मको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले १० लाख रुपैयाँ पेश्की लिएर पनि अनमोलले फिल्म खेल्न नमानेको भन्दै प्रहरीसामु आपराधिक विश्वासघातको उजुरी दिएकी थिइन् । उनको उजुरीको आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गर्दै पक्राउ गरेको हो ।

प्रहरीले आइतबार अनमोललाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।