Breaking

किन बढ्दै छन् मुटु रोगीहरू,कस्ता व्यक्ति मुटु रोगको जोखिममा, जोगिनका लागि अपनाऔँ यस्ता उपाय


काठमाडौँ —विश्वभर नै मुटुको समस्या लिएर अस्पताल पुग्नेहरुको संख्या बढ्दो क्रममा छ । नेपालमा पनि व्यस्त र अस्वस्थ्य जीवन शैलीले मुटु रोगीहरुको संख्या बढ्दै गईरहेको छ । मुटु रोग तथा यसबाट हुनसक्ने क्षतिलाई कम गर्नकै लागि विश्वभर वर्षको एक दिन मुटु दिवस मनाउने गरिन्छ । आज २९ सेप्टेम्बर अर्थात् विश्व मुटु दिवस । ‘युज हार्ट नो हार्ट’ अर्थात् मुटुको प्रयोग गरौं, मुटुबारे जानौं भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाइएको छ । वर्षभरी मुटुरोगले दुई करोड मानिसको ज्यान जाने डरलाग्दो तथ्यांक सार्वजनिक भईरहेको अवस्थामा मृत्यु हुनुको प्रमुख कारक तत्वको एक नम्बरमा पनि यसैलाई लिने गरिन्छ । नेपालमा कुल मृत्युको ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गर्छ ।

त्यसैमध्ये सबैभन्दा जोखिम मुटु रोग २८ प्रतिशत हुँदा प्रमुख समस्याको रुपमा देखा पर्दै गएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा कुल जनसख्ंयाको २५ प्रतिशत अर्थात् करिव ७५लाख जनता मुटुरोगी भएको अनुमान छ । नेपालमा करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्ट्रोल छ, १० प्रतिशतलाई मधुमेह छ । त्यस्तै १ प्रतिशत बालबालिकालाई बाथ मुटुरोग छ । अझै पछिल्लो सयम युवापुस्तामा मुटु रोगको समस्या बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

मुटु रोगबाट नेपालसहित विकासोन्मुख मुलुक बढी प्रभावित छन् । मुटु जन्य रोग बढ्नुको मुख्य कारण बदलिँदो खानपान र जीवनशैली भएको विशेषज्ञहरु बताउँछन् । धनी, गरिब, बालक, युवा, वृद्ध कुनै वर्ग वा उमेर समूह नचिन्ने यसबाट कोही जोखिम मुक्त छैनन् । तर, लैंगिकतामा भने यसले केही फरक पार्छ ।

महिलाको तुलनामा पुरुष हृदय रोगको उच्च जोखिममा पर्ने मुटुरोग विशेषज्ञहरु बताउँछन् । तर, महिलालाई हुँदै नहुने भने होइन । उच्च रक्तचाप, मधुमेह, चुरोट सेवन, मोटोपन, शारीरिक व्यायमको कमी, उच्च कोलस्ट्रोल, अत्याधिक तनाव तथा नकरात्मक सोच, बढ्दो उमेर, पारिवारिक कारणजस्ता समस्या लिने बढी मुटु रोगको जोखिममा हुन्छन् । त्यसैले मुटु रोगबाट बच्न कम्तीमा वर्षको एक पटक भने जाँच गराउन चिकित्कको सुझाव छ ।

जीवनशैली परिवर्तन गरेर मुटु रोग र हृदयघातको जोखिमलाई कम गर्न सकिन्छ । मुटुरोगबाट बच्न खानामा विशेष ध्यान दिन जरुरी छ । रेसा र चोकर युक्त खाद्यानको समायोजन गर्दै सलाद, हरीया सागसब्जिजस्ता खानालाई प्राथमिकतामा राख्नुपर्छ । भिटामिन ए, सी र ई पाईने खानेकुरा र एण्टिअक्सिडेण्ट युक्त भोजन मुटु रोगीकालागि अपरिहार्य हुने गर्छ । यसबाहेक नियमित व्यायाम, सकारात्मक सोच र नियमित चिकित्सकसँगको परामर्श गर्न पनि आवश्यक छ ।

मुटु रोग तथा यसबाट हुनसक्ने क्षतिलाई कम गर्नकै लागि विश्वभर वर्षको एक दिन मुटु दिवस मनाउने प्रचलन रहदै आएको छ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि भने सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको हो ।