Breaking

कोशीको सत्ता टिकाउने ओलीको दाउ, प्रचण्डलाई मध्यावधिको डर, मुख्यमन्त्री गुमेपछि निराशामा कांग्रेस


काठमाडौँ — सत्ता र सरकार गठनको सकसले कोशी प्रदेश संकटमा छ । राजनीतिक दल र नेतृत्वको स्वार्थमा कोशी प्रदेश अस्थिरताको भारी बोक्न बाध्य छ । सहमति सहितको निकास भन्दा दलगत दम्भको शिकार बनेको कोशीले तत्काल निकास पाउने सम्भवना झन न्यून देखिन्छ । पहिलो कार्यकालमा पहिचानको मुद्धा पेचिलो बन्दा प्रदेश नामकरण नै हुन नसकेको कोशी प्रदेश दोस्रो कार्यकालमा राजनीतिक अस्थिरताको रमिते थलो बनेको छ ।

सत्ता र शक्तिमा पुग्न राजनीतिक दल र नेतृत्व संविधानकै चिरहरण गर्दै आएका छन । १० महिनामा चार पटक मुख्यमन्त्री फेरबदलको फेहरिस्त नै कोशीमा देखिएको अस्थिरताको दृश्य हो । अहिले संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कुमार कार्कीले कोशीको नेतृत्व गरिरेका छन् । सर्वोच्च अदालतको परमादेशले भर्दौ २२ गते दोस्रो पटक सत्तामा फर्किएका कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार असोज २२ भित्र विश्वासको मत लिनुपर्ने छ ।

आफनो दलको एकल बहुमत नहुँदा एमाले अहिले एकिकृत समाजवादीलाई आफ्नो पक्षमा ल्याउने कसरतमा लागेका छन भने अन्य दलललाई पनि फकाइ नै रहेका छन । प्रदेशका नेताहरु विश्वासको मत फकाउन सक्रिय रहँदा केन्द्रमा पनि यसको रस्साकस्सी सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली अरु दललाई फकाउनुको सट्टा धम्किमा उत्रिएका छन । मध्यावधीमा गए एमालेले बहुमत ल्याउने दावी सहित कि एमाले सरकार कि मध्यवधि निर्वाचनको पक्षमा ओली उभिएका देखिन्छन् ।

पहिलो पटक विश्वासको मत नपाएको एमालेले दोस्रो पटक पनि विश्वासको मत पाउन मुस्किल छ । यसअघि एमालेलाई समर्थन गर्दै आएको राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले प्रदेश सभाको ठुलो दल एमाले कांग्रेस मिलेर सरकार गठन गर्नुपर्ने पक्षमा छन । कोशीमा उद्धव थापा नेतृत्को गठबन्धन सरकार जोगाउन संविधानको ठाडो उल्लघंन गर्दै पहिले सभामुख र दोस्रो पटक सभाध्यक्षको पदकै दुरुपयोग गरेर विश्वासको मत लिए पनि अदालतको आदेशले सफल बन्न सकेन । सत्ता गठबन्धनलाई प्रदेश र राजनीतिक अस्थिरता भन्दा गठबन्धनकै चिन्ता बढी छ ।

गठबन्धन र संघियता जोगाउन एमालेसँग सौदावाजी गर्ने पक्षमा गठबन्धन छैन । पहिचानको मुद्धाले कोशीमा अराजकता मौलाई रहेको छ । अर्कोतर्फ राजनीतिक दलहरुको अर्कमण्यताले राजनीतिक अस्थिरताको भुमरीमा कोशी छ । सरकार गठन राजनीतिक दाउपेचको विषय बन्दा हिक्मत कार्कीले पनि विश्वासको मत पाउने देखिँदैन । राजनीतिक जोडघटाउले लथालिङ कोशीमा दलहरुबीच सहमति नभए मध्यावधि विकल्प छ । कोशीबाट नै मध्यावधीको सुरुवात नहोला भन्न सकिन्न ।