राजनीति

स्वास्थ्यकर्मीको दरबन्दी बढाउन सरकारसँग सांसदहरुको माग


काठमाडौँ– नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले स्वास्थ्यकर्मीको दरबन्दी बढाउन र स्रोत साधन सम्पन्न बनाउन सरकार जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । शुक्रवार शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद भण्डारीले स्वास्थ्य क्षेत्रमा थोरै जनशक्तिले काम गरिरहेको भन्दै स्वास्थ्यकर्मीको जनशक्ति थप्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभएको हो ।

उहाँले स्वास्थ्यकर्मीहरुको संख्या बढाउँदा मात्रै पनि बिरामीको समस्या सम्बोधन हुने बताउनु भयो । भण्डारीले चिकित्सकलाई रोग पहिचानका लागि उपकरण दिनै नसकिएको भन्दै कानून भएपनि कार्यान्वयन नभएको बताउनु भयो । उहाँले स्वास्थ्यकर्मीहरुले अस्पताल बन्द गरिदिँदा धेरै बिरामीको मृत्यु हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो ।

समितिमा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले स्वास्थ्यकर्मीहरुको ऐन कानून सुधार्न आन्दोलनरत पक्ष वार्तामा आउनुपर्ने बताउनु भयो । उहाँले अरु तरीकाले राज्य अराजकतातर्फ जाने भन्दै वार्तामार्फत कानून, नियमावली र कार्यविधिमा सुधार गर्न सकिने बताउनु भयो । उहाँले समस्याको हल भनेकै वार्ता भएको भन्दै चिकित्सकलाई कुट्ने कुरा अक्षम्य रहेको बताउनु भयो । उहाँले अपराध गर्ने जो सुकैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनु भयो ।