Breaking

एमाले कर्णाली अधिवेशन : सहमतिको अन्तिम प्रयासमा नेताहरु


काठमाडौँ – नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन प्रदेश राजधानी वीरेन्द्रनगरमा बुधबारदेखि जारी छ । अधिवेशनले नयाँ नेतृत्व चुन्ने छ । अधिवेशनको तेस्रो दिन शुक्रबार बिहानैदेखि नेताहरु सर्वसम्मत नेतृत्वका लागि छलफलमा जुटेका छन् ।

प्रदेश अध्यक्षका लागि सल्यानका गुलावजंग शाह र कालिकोटका मिनबहादुर शाही प्यानल नै बनाएर चुनाव लड्ने तयारीमा छन् । शाह एमाले स्थायी कमिटी सदस्य यमलाल कँडेल निकट हुन् भने शाही अर्का स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी समूहका नेता हुन् ।

तर अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सर्वसम्मत तरिकाले नेतृत्व चएन गर्न दबाब दिएपछि वीरेन्द्रनगरमा नेताहरु सहति जुटाउने प्रयासमा छन् । ‘हिजो महासचिव कमरेडले मिनबहादुर जीलाई जसरी भएपनि मिलेरै जान निर्देशन दिएर जानुभएको छ’, एमालेका एक नेताले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘गुलाव कमरेडकै अध्यक्षतामा सहमति खोज्ने अन्तिम प्रयास भइरहेको छ । त्यसमा सहमति जुट्न सकेन भने निर्वाचन हुने पक्का छ ।’

महासचिव पोखरेलले बिहीबार दिनभर बन्दसत्रलाई थाती राखेर सहमतिको प्रयास गरेका थिए । तर, कुनै सहमति जुट्न नसकेपछि मिनबहादुर शाहीलाई अलि लचिलो भएर सहमति खोज्न निर्देशन दिएर उनी बन्दसत्रमा सहभागी नै नभएर काठमाडौँ फर्किएको नेताहरुको भनाइ छ । अधिवेशनको बन्दसत्र बेलुका पाँच बजेबाट मात्रै सुरु भएको थियो ।
आज बिहानैदेखि वीरेन्द्रनगरको एक होटेलमा प्रदेश इन्चार्ज लेखराज भट्टको रोहबरमा स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल, गोरख बोगटी र अध्यक्षका उम्मेद्वार शाह र शाहीबीच छलफल चलिरहेको छ । ‘गुलाव कमरेड अध्यक्ष, मिनबहादुर कमरेडलाई उपाध्यक्ष बनाउने गरी सहमतिका लागि छलफल चलिरहेको छ,’ एक प्रदेश कमिटी सदस्यले भने, ‘छलफल सहमतिउन्मुख छ ।’