Breaking

एमाले बागमती प्रदेशको मतदान अनिश्चित


काठमाडौँ – नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान अनिश्चित बनेको छ । आज बिहान ११ बजे मतदान सुरू गर्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि अहिलेसम्म उम्मेदवारको प्रारम्भिक नामावली समेत सार्वजनिक हुन सकेको छैन ।

नेतृत्व चयनको लागि आज बिहान ८ बजेबाट मतदान सुरू गर्ने भनिए पनि १ बजेके लागि तय भएको थियो । तर,आन्तरिक तयारी नपुगेको भन्दै मतदान ४ बजेलाई सरेको छ । एमालेको निर्वाचन अधिकृत सानुराम पोखरेलले बिहीबार ४ बजेबाट पनि मतदानको समय सर्न सक्ने जानकारी दिए । उनका अनुसार ५ पदाधिकारीसहित २४० सदस्यीय कमिटीका लागि ५०० भन्दा बढीको उम्मेदवारी दर्ता भएको छ ।

त्यसपछि विद्युतीय भोटिङ मेशिनमार्फत् मतदान गर्ने तयारी भएकाले उम्मेदवारको नाम मेसिनमा ‘इन्ट्री’ गर्न केही समय लाग्नेछ । अध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपाध्यक्षमा सुभाषचन्द्र ठकुरी, नारायण प्रसाद खतिवडा, दावा दोर्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ। सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र डाक्टर रामकुमार अधिकारीले उम्मेदवारी दिएका छन् । दुई उपसचिवका लागि १२ जनाको उम्मेदवारी परेको छ ।