Breaking

असोज २१ मा विश्व शेर्पा संघको दोस्रो अधिवेशन, (यस्तो छ कार्यतालिका)

अधिवेशनमा सहभागी हुन के गर्नुपर्छ ?


काठमाडौँ — विश्व शेर्पा संघको दोस्रो अधिवेशन यही असोज २१ (अक्टोबर ८) मा हुने भएको छ ।

विश्व शेर्पा दिवसको अवसर पारेर अक्टोबर ८ मा काठमाडौँको चावहिल चुच्चेपाटीस्थित स्मार्ट पार्टी प्यालेसमा धर्मगुरू ठुल्सिक याङसी ङवाङ जिग्मे ठिन्ले कुनख्याब रिम्पोछेको प्रमुख आतिथ्यमा अधिवेशन हुन लागेको संघका अध्यक्ष आङ दोर्जी शेर्पा लामा (एडी) ले जानकारी दिनुभयो ।

विश्वभर छरिएर रहेका शेर्पाहरूको भाषा संस्कृति र रितिरिवाजमा एकरूपता ल्याउन र विश्वभरका शेर्पाहरूलाई एकीकृत गर्ने उदेश्यले सन् २०१७ मा एडी शेर्पाको अध्यक्षतामा विश्व शेर्पा संघ संगठन गरिएको थियो ।

संघ संगठन भएको खुसियालीमा विश्वभरका शेर्पाहरूले प्रत्येक वर्ष अक्टोबर ८ लाई ग्लोबल शेर्पा ‘डे’ को रूपमा मनाउन थालेका हुन् । यो वर्ष ग्लोबल शेर्पा ‘डे’ को अवसरमा संघको दोस्रो अधिवेशन हुन लागेको शेर्पाले बताउनुभयो ।
अध्यक्ष शेर्पाका अनुसार शेर्पाहरुको बसोबास रहेको विभिन्न देशहरूमा अक्टोबर ८ मा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । ग्लोबल शेर्पा ‘डे’ को पहिलो अधिवेशन काठमाडौँमा भएको थियो । पहिलो कार्यक्रम भने भारतको सिक्किममा गरिएको थियो ।

दोस्रो अधिवेशनमा विश्वभरका २१ देशबाट शेर्पा समुदायका संघसंस्थाका प्रतिनिधि र नेपालका रहेका विभिन्न संस्थाहरूको प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष शेर्पाले योहो खबरलाई जानकारी दिनुभयो ।

शेर्पाका अनुसार केही समयअघि शेर्पा समुदायको आर्थिक सहयोगमा संघले निर्माण गरेको ‘शेर्पा भाषाको एप्स’ कार्यान्वयन प्रभावकारी नदेखेकाले दोस्रो अधिवेशनको अवसरमा संस्थाले अर्को एप्स सार्वजनिक गर्ने बताउनुभयो । शेर्पा वर्ल्ड  नामक एप्स सार्वजनिक गरिने उहाँले बताउनुभयो । ‘शेर्पा वर्ल्ड एप्स’ अहिलेको नयाँ प्रविधिमा निर्माण गरिएको हुँदा एप्स प्रयोगकर्ताले अनिर्वाय कार्ड किन्नु पर्ने र सो कार्डबाट ४ जनाले एप्स प्रयोग गर्न सकिने एप्स निर्माणकर्ता ङिमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाले एप्समार्फत भाषा प्रयोग, उच्चारणको शैली सिक्नुको साथै एप्समा शेर्पाहरूको विवाह, जन्मलगायत सामाजिक संस्कारका विषय राखिएको बताउनु भयो ।

एप्समार्फत शेर्पा, सम्भोटा, नेपाली र अंग्रेजी भाषा अनुवाद हुनेछ । त्यस्तै एप्समा शेर्पा भाषाको शब्द बाचन लगायतको सुविधा रहने शेर्पाले जानकारी दिनुभयो । एप्सले शेर्पाहरूलाई मात्रै नभएर शेर्पा भाषा सिक्न चाहने शोधकर्ताहरूलाई समेत सहयोग पुग्ने अध्यक्ष शेर्पा बताउनुभयो ।

हाललाई ‘शेर्पा वर्ल्ड एप्स’ प्रयोगका लागि प्रतिकार्ड १ हजार तोकिएको संघले जनाएको छ । यो एप्स कार्ड ५० हजार शेर्पालाई बिक्री वितरण गर्ने संघको लक्ष्य रहेको अध्यक्ष शेर्पाले बताउनुभयो । एप्सलाई सरल र सहज रूपमा प्रयोगका लागि उच्च प्रविधि अपनाइएको उहाँले बताउनुभयो ।

यस्तो छ अधिवेशनको कार्यतालिका :
अक्टोबर ८ मा दोस्रो अधिवेशन सम्पन्न भएपछि अक्टोबर ९ मा अधिवेशनमा सहभागीलाई शेर्पा समुदायको बसोवास रहेको सिन्धुपाल्चोक जिल्लाको शेर्पा गाउँहरूको अवलोकन गराइने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाका अनुसार अवलोकनको क्रममा शेर्पा समुदायको मौलिक नृत्य स्याब्रु, शेर्पाको मौलिक गीत-संगीत र परम्परागत खानका परिकार प्रस्तुत गरिने छ । शेर्पा गाउँको अवलोकन क्रममा प्रतिनिधिहरूले चीनको सीमासम्म भ्रमण गरेर अक्टोबर १० मा काठमाडौँ फर्किने र ११ मा नेपाल शेर्पा संघको भवनमा विदाई कार्यक्रम गरिने जानकारी दिनुभयो ।

विश्वको विभिन्न देशबाट अधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूको नामावली आइसकेको र नेपालमा रहेका विभिन्न संघसंस्थाले यही अक्टोबर १ सम्म संस्थागत रूपमा आफ्नो प्रतिनिधिको नामावली नेपाल शेर्पा संघमा बुझाउन आह्वान गरिएको छ ।

दोस्रो अधिवेशनको आयोजक संस्था विश्व शेर्पा संघ रहे पनि व्यवस्थापन भने शेर्पाहरूको छाता संगठन नेपाल शेर्पा संघ रहेको छ ।

अधिवेशनमा सहभागी नेपालबाहिरका प्रतिनिधिहरूलाई शेर्पा सेवा केन्द्रले नवनिर्मित धर्मशालामा निःशुल्क बस्नेको व्यवस्था प्रदान गरिने केन्द्रका अध्यक्ष गेल्जेन शेर्पा लामाले जानकारी दिनुभयो ।

यस्तो छ निर्वाचन कार्यक्रम
१. नेतृत्व छनौट अधिवेशनमा सहभागी प्रतिनिधिहरूको माध्यमबाट बाट नभएर सबभन्दा धेरै शेर्पाहरूको बसोवास रहेको देशको आधारमा अध्यक्ष र महासचिव चयन गरिने र क्रमश शेर्पा रहेको देशहरूलाई सदस्य प्रदान गरिने बताउनु भयो ।
२. तेस्रो अधिवेशन आयोजना गर्ने देश तोकिने र सोही देशबाट उपाध्यक्ष र कोषाध्यक्ष चयन गरिने जनाएको छ ।