Breaking

प्रचण्डका दाहिनेलाई सुदन किराँतीले थर्काए, विवादको भुमरिमा पर्यटन बोर्ड, को हुन् खुम्लेकिरा ?


काठमाडौँ — बुधबार ४४ औँ विश्व पर्यटन दिवस मनाईएको छ । सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरेको छ । सन् २०२३ मा १० लाख पर्यटक भित्रयाउने सरकारको घोषणा छ । तर सरकारले उचित निति तथा कार्यक्रम नल्याएको भन्दै पर्यटन बोर्ड रुष्ट बनेको छ । ४४ औँ विश्व पर्यटन दिवस बनाइरहँदा नेपालमा पर्यटन आगमनको अवस्थामा भने त्यति चित्तबुझ्दो छैन ।

‘सबैका लागि पर्यटन पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाइदै आएको छ । सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरेको छ । २०२३ मा १० लाख पु¥याउने घोषणा समेत सरकारको छ । वार्षिक बजेटमै पर्यटन प्रवद्र्धनका लागि २ अर्ब १३ करोड रुपैयाँ विनियोजन भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ भित्र नेपालको पर्यटन पुनरुत्थान हुने अपेक्षा राखेको छ । विश्व पर्यटन संगठनले पनि सन् २०२३ सम्म नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ ।

सरकारले पर्यटन बोर्डभित्रका समस्याको कारण पर्यटन क्षेत्र चलायमान बन्न नसकेको गुनासो गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन बोर्डभित्र खुम्लेकिरा भएका कारण पर्यटन क्षेत्र चलायमान बन्न नसकेको टिप्पणी गरेका छन् । पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवद्र्धनको निम्ति अघि बढ्ने उनको प्रतिवद्धता छ ।

यता, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले सरकारप्रति असन्तुष्टी पोखेका छन् । पर्यटन निति र कार्यक्रममा सरकारले प्रभावकारी भुमिका नदेखाएको उनको आरोप छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को आठ महिनामा छ लाख एक हजार ३६० पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष एक लाख ४० हजार ३०० पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०२१ मा ५५ हजार ४४७ पर्यटक नेपाल आएका थिए। सन् २०२० मा पर्यटक आगमन संख्या दुई लाख २० हजार ८५ मात्र छ। सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए । पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको नेपालमा अझै धेरै विदेशी पर्यटकसहित स्वदेशी पर्यटक पनि आकर्षित गर्न सरकारले आवश्यक रणनीति बनाउनै पर्छ ।