Breaking

चीनमा नेपाली क्रिकेटरको चमत्कार, खोसियो भारतको कीर्तिमान, खेलमा को–को चम्किए ?


काठमाडौँ — चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुद, अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा मंगोलियासँगको खेलमा नेपालले कीर्तिमानी जित हाँसिल गरेको छ । नेपालले मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित हात पारेको हो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ओभरमा ३१४ रन बनाउने क्रममा विभिन्न कीर्तिमान कायम गरेका छन् । यसै त क्रिकेट कीर्तिमानै कीर्तिमानको खेल हो । एसियन गेम्समा नेपालले विभिन्न दुर्लभ कीर्तिमान कायम गरेको छ । नेपालले एसियन गेम्सको समूह चरणको पहिलो खेलमा मंगोलियासँग खेल्यो । मंगोलिया त्यस्तो टिम हो जसले नेपालसँग खेल्दै अन्तराष्ट्रिय क्रिकेटमा पाइला राखेको छ ।

मंगोलिया नेपालका लागि त्यस्तो प्रतिद्धन्दी बनेर चिनिनेछ, जसविरुद्ध नेपालले केही उद्भुत कीर्तिमान कायम राखेको छ । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट ग¥यो । यसक्रममा नेपालले टी–२० आई क्रिकेटमा कम्तिमा ७ वटा रेकर्ड बनाएको छ । नेपालले २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनायो । यो नै टी–२० आईमा अहिलेसम्म बनेको ठूलो स्कोर हो । यसअघि २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८ रन बनाएको थियो भने ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध २७८ बनाएको थियो ।

नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ । मंगोलियाविरद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५.७ रह्यो । २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८ रन बनाउने क्रममा १३.९ को रन रेट कायम गरेको थियो । त्यस्तै बुधबार नेपालको नाममा अर्को रेकर्ड रह्यो, सर्वाधिक छक्का । ३१४ रनको स्कोर खडा गर्ने क्रममा नेपाली ब्याट्सम्यानहरुले २६ छक्का हानेका थिए ।

यो नयाँ कीर्तिमान हो । यसअघि यो रेकर्ड चेक रिपब्लिकको नाममा थियो । ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाउने क्रममा चेक रिपब्लिकका ब्याट्सम्यानले २२ छक्का हानेका थिए । अर्को किर्तिमान बनाउने क्रममा कुशल मल्लले पनि विश्व कीर्तिमान बनाएका छन् । उनले मात्र ३४ बलमा शतक प्रहार गर्दै रेकर्ड बनाएका हुन् । उनले दक्षिण अफ्रिकाका डेभिड मिलरको रेकर्ड तोडेका हुन् । मिलरले २९ अक्टोबर २०१७ मा बंगलादेशविरुद्ध ३५ बलमा १०० रन बनाएका थिए । १३७ रनमा अविजित रहेका उनी टी–२० आईमा एकै इनिङमा सर्वाधिक रन बनाउने क्रिकटरको सूचीमा पाँचौं नम्बरमा परे । पहिलो नम्बरमा एरोन फिन्च छन् । उनले १७२ रन बनाएका छन् ।

दीपेन्द्रसिंह ऐरीले पनि विश्व कीर्तिमान बनाएका छन् । मात्र ९ बलमा अर्धशतक बनाएका उनी टी–२० आईमा सबैभन्दा कम बलमा ५० रन बनाउने व्याट्सम्यान बनेका छन् । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो । उनले १९ सेप्टेम्बर २००७ इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए । बुधबार ऐरीको नाममा अर्को पनि रेकर्ड दर्ज भयो । त्यो हो हाइएस्ट स्ट्राइक रेट । मात्र १० बलमा अविजित ५२ रन बनाएका उनको स्ट्राइक रेट ५२०.०० रहृयो । यसअघि यो रेकर्ड वेष्ट इण्डिजका डवेन स्मिथको नाममा थियो । १३ सेप्टेम्बर २००७ मा बंगलादेशविरुद्ध मात्र ७ बलमा २९ रन बनाएका उनको स्ट्राइक रेटमा ४१४.२८ थियो । नेपालले मंगोलियालाई २७३ रनले हरायो ।

टी–२० आईमा यो नै सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले नेपाली क्रिकेटले पदक जित्ने सम्भवना रहेको बताएका छन् । पत्रकारसँग कुरा गर्दै कप्तान पौडेलले आफुहरु डगआउटमा बस्दा होस् वा जहाँ कहाँपनि आफुहरु मेडन जित्नुपर्छ है भनेर कुरा गरिरहने बताएका हुन् । उनले भने, ‘कन्डिसन र विकेट हेरेर पदक जित्छौँ जस्तो लाग्छ । तर हामी एक समयमा एक खेललाई लिएर अघि बढ्ने हो ।

मंगोलियाविरुद्ध कीर्तिमानी जितपछि कप्तान पौडेलले जस्तो टोली भए पनि राम्रो परिणाम दिने लक्ष्यमा रहेको सुनाएका छन् । मंगोलियालाई हराएसंगै नेपाली क्रिकेटले देश र क्रिकेट प्रशंसकहरूको छाती चौंडा गरिदिएका छन् । आवश्यक पूर्वाधारको अभावमा समेत नेपालले देखाएको यो प्रदर्शन प्रशंसनीय छ । अबका दिनहरुमा क्रिकेट क्षेत्रको वृद्धि र विकास भयो भने नेपाली क्रिकेटलाई विश्वले चिन्ने कुरालाई नकार्न सकिन्न ।