Breaking

आज विश्व पर्यटन दिवस मनाइँदै


काठमाडौँ – विश्व पर्यटन दिवस आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

‘सबैका लागि पर्यटन स् पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।
दिवसको अवसरमा त्रिभुवन विदेशबाट आएका पर्यटकहरुलाई विमानस्थलमा स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदान लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

दिवस भव्यरूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औं विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।

मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार आज बिहान ६ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गर्ने कार्यक्रम छ । यस्तै बिहान साढे ७ बजे ललितपुरको पाटन ढोकाबाट मंगलबजारसम्म प्रभातफेरी गरिनेछ । पाटन दरबार क्षेत्रमा आयोजित औपचारिक कार्यक्रममा हुनेछ ।

विगतमा विगतमा ठमेलबाट प्रभातफेरी गरेर भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा औपचारिक कार्यक्रम हुने गरेकामा यो वर्ष ललितपुरमा पर्यटन दिवस मनाउन लागिएको हो । उक्त कार्यक्रममा पर्यटन मन्त्रालय, मातहत निकाय तथा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुनेछ ।

पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यक्रममा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गरिने कार्यक्रम छ ।

नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालका अनुसार संघको अगुवाइमा आज पोखरामा विशेष कार्यक्रम गरिँदैछ ।

दिवसकै अवसरमा नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सोमबार रक्तदान कार्यक्रम गरेको थियो । दिवसलाई भव्य रुपमा मनाउन पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको सहकार्यमा अन्य कार्यक्रम पनि हुने अध्यक्ष रमेश थापाले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणको महामारीबाट करिब तीन वर्ष शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र अहिले करिब पुरानै लयमा फर्किएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ भित्र नेपालको पर्यटन पुनरुत्थान हुने विश्वास छ । विश्व पर्यटन संगठनले पनि सन् २०२३ सम्म नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ ।

पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को आठ महिनामा छ लाख एक हजार तीन सय ६० पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष एक लाख ४० हजार ३०० पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
सन् २०२१ मा ५५ हजार चार सय ४७ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा पर्यटक आगमन संख्या दुई लाख २० हजार ८५ मात्र थियो । सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार १९१ बाहृय पर्यटक नेपाल घुम्न आएका थिए ।

नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ । विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य संख्यामा नेपाल आउने क्रम जारी छ ।