काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस एडोनोम ग्रेबिएससले कोरोना भाइरसको उत्पत्तिबारे जानकारी प्रदान गर्न पुनः चीनसँग आग्रह गरेका छन् । यसबारे चीनलाई पटक–पटक डब्लूएचओले आग्रह गरेपनि चीन भने तटस्थ बसिरहेको छ । कोरोना महामारीको कारण विश्वमा त्रास, रोजीरोटी प्रभावित, ठूलो मानवीय क्षति, विश्वको आर्थिक, सामाजिक तथा सबै खालका गतिविधि प्रभावित पार्यो ।
यसको चपेटामा विश्वभरका देशहरु परे । यसको असर तत्काल अन्त्य हुने संकेत अझै पनि देखिँदैन । कोरोना भाइरस सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा फेला परेको थियो । तीन–चार महिनाको बीचमा दु्रतगतिमा संसारभर फैलिएर यो भाईरसलाई नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । कोरोना भाइरसबाट लाग्ने रोगलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड–१९ नाम समेत दियो । कोभिड–१९ चीनको वुहान शहरमा फेला परे पनि यस्को उत्पत्ति कसरी भयो भन्ने बारे भने चीनले अझै पनि खुलाएको छैन ।
तर विश्व स्वास्थ्य संगठन डब्लूएचओले भने चीनलाई बारम्बार यस बिषयमा जानकारी दिन झस्काई रहेको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले चीनसमक्ष कोरोना भाइरसको उत्पत्तिबारे जानकारी प्रदान गर्न पुनः आग्रह गरेका हुन् । उनले आर्थिक अखबार फाइनान्सियल टाइम्ससँगको कुराकानीका क्रममा आफूले चिनियाँ अधिकारीहरुसँगको द्विपक्षीय छलफललमा कोरोना भाइरसको उत्पत्तिबारे जानकारी गराउन आग्रह गरेको बताएका हुन् । विश्वका औषधि उत्पादक कम्पनीहरुले कोरोना भाइरसका नयाँ भेरियन्टविरुद्ध खोपको प्रभावकारिता वृद्धि गर्ने प्रयास गरिरहेका बेला डब्लूएचओ प्रमुखको यस्तो भनाइ आएको हो ।
डब्लूएचओले यसअघि नै चीनसमक्ष लिखित रुपमै कोरोना भाइरसको उत्पत्तिबारे आफूहरुलाई सूचना दिन आग्रह गरेको उनको भनाइ छ । उनले चीन सहमत भएको खण्डमा कोरोना भाइरसबारे थप अध्ययन गर्न डब्लूएचओले एउटा टोली त्यसतर्फ पठाउन पनि तयार रहेको जनाए । उनले यसअघि पनि पटक पटक चीनसमक्ष कोरोना भाइरसको उत्पत्तिबारे जानकारी दिन आग्रह गर्दै आएका छन् । चीनको वुहान सहरमा देखा परेको यस महामारीले विश्वभर ६९ लाखभन्दा धेरै मानिसको मृत्यु भईसकेको छ ।


प्रतिक्रिया