Breaking

नेतृत्व विदेशतिर व्यस्त, मुलुक अस्तव्यस्त, सत्तारुढ दलकै चेपुवामा कार्यबहाक प्रधानमन्त्री र गृहमन्त्री

योहो संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १५ दिनका लागि विदेश भ्रमणमा छन । शनिवार उत्तरी छिमेकी चीन पुगेका छन । सभामुखदेखि आधाभन्दा बढी सरकारी पदाधिकारी र सांसदहरु पनि विदेशतिरै व्यस्त छन । देशमा भने अनेक प्रकरण र अराजक गतिविधिले प्रसय पाईरहेके छ । भर्दौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड शनिवार उतैबाट उत्तरी छिमेकी चीन पुगेका छन् । असोज १३ गते मात्र स्वदेश फर्किने कार्यतालिका छ । मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री १५ दिन लामो विदेश भ्रमणमा छन ।

प्रधानमन्त्री मात्रै होइनन्, मन्त्रीहरु पनि विदेश सयर गरिरहेका छन् । सदन बन्द भएपनि सभामुखदेखि सांसदहरु विदेश भ्रमणमा रहँदा देश भने अनेक प्रकरण र मौलाउँदो अराजकताले जर्जर बनिरहेको छ । शनिवार प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमण निस्किएकोमा आइतवार देशभरका चिकित्सकले सेवा नै बन्द गरेर सडक आन्दोलनमा उत्रिए ।

संविधान जारी भएकै दिनको छेक पारेर सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले पठनपाठन नै ठप्प पार्दै काठमाडौंमा विशाल विरोध प्रदर्शन गरे । स्वास्थ्यकर्मी र आन्दोलरत शिक्षकसँग सहमति गरेर आन्दोलनकारीहरुलाई केही मत्थर पार्ने काम त भयो, तर, राहत शिक्षकको माग सम्बोधन नभएकोमा उनीहरुले अझै सडक छाडेका छैनन् । जसको दोष राजनीतिक नेतृत्वले नै लिनुपर्ने शिक्षा क्षेत्रका जानकारहरु बताउँछन् ।

सरकारलाई सुन प्रकरणको सकसले अझै छाडेको छैन । शुक्रवार सांझ सुन तस्करीको छानबिन गर्न उच्च स्तरीय आयोग गठनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमाले नेताहरूबीच छलफल भयो । माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरामाथि अनुसन्धान गर्नुपर्ने भनेर एमालेको दबाब सुरु भएको छ ।

तर, गृहमन्त्री श्रेष्ठ उनीहरुमाथि अनुसन्धान गर्न अनिच्छुक देखिएको भन्दै एमाले फेरि रुष्ट बन्न थालेको छ । दलहरुबीच एकअर्कालाई सिध्याउने खेलमा लाग्दा न त उच्चस्तरीय आयोग तत्कालै बन्ने देखिन्छ, न त उनीहरुले भनेजस्तो अनुसन्धान प्रक्रिया नै अघि बढ्नेछ ।

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा भएको भनिएको घोटला प्रकरणले पनि किनारा पाएको छैन । यहिबीचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मन्दिरमा सुनको जलहरी राख्ने क्रममा अनियमिता भएको निष्कर्ष निकाल्दा दलहरु फेरि आफ्नालाई जोगाउने कसरतमा अग्रसर हुने देखिन्छ ।

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा मुचुल्का अनुसार जडान नभएको र छानबिन सुरु गरेपछि सुनको पेटी थप्ने काम भएको भन्दै अनियमितता भएको अख्तियारको निष्कर्ष छ । एमाले अध्यक्ष ओली नै मुछिएको जलहरी प्रकरणको नयाँ तरंगले प्रतिपक्ष एमाले र सरकारबीच थप दरार सिर्जना गर्ने निश्चित छ ।

कार्यवहाक प्रधानमन्त्री उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादर खड्कालाई सुम्पेर प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमणमा निस्कँदा सरकार भने एकपछि अर्को चुनौतिको सामना गरिरहनुपरेको छ । हरेक दिन आन्दोलनरत पक्षसँग सहमतिको टेबल गर्नुपर्ने बाध्यता छ । अस्तव्यस्त आन्तरिक राजनीतिमा सत्तारुढ दलकै नेताहरु सरकारसँग सन्तुष्ट छैनन् । नेताहरु विदेश भ्रमणमै रमाईरहँदा जनतमा असन्तुष्टिको खात लाग्दै गएको छ ।