काठमाडोँ– नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमती अनुरुप विधेयकलाई संशोधन गरी पारित गर्न सभामुखलाई ध्यानाकर्षण गराएको छ । आज नेपाल शिक्षक महासंघकि सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोलीले सभामुख देवराज घिमिरेलाई भेटी सरकारसँग गत असोज ५ गते भएको सहमतिका बारेमा जानकारी गराएको हो । आन्दोलनरत शिक्षक र सरकारका बिचमा भएको सहमति अनुरुप विधेयकलाई संशोधन गर्दै पारित गर्न शिक्षकहरुले सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
आफूहरुले पटक–पटक सहमतिको नाममा सरकारबाट धोका खाएको भन्दै शिक्षकहरुले यसपटक भने विधेयकमा सहमतिका बुँदा अनुरुप संशोधन भइ माग पूरा गर्न सभामुखलाई अनुरोध गरिएको छ । सभामुखसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिकि सहअध्यक्ष नानुमाया पराजुलीले सभामुखलाई सरकारसँग भएको सहमतिको बुँदा हस्तान्तरण गर्दै संसदमा आवश्यक भुमिका खेल्न आग्रह गरिएको बताउनु भयो । उहाँले विधेयक फिर्ता नगरी शिक्षकहरुको आवश्यक माग सम्बोधन गर्दै तुरुन्त पारित गर्न आग्रह गरिएको पनि बताउनु भयो । सभामुख घिमिरेले शिक्षकहरुको सरकारसँग भएको सहमति बमोजिम विधेयक पारित गर्न आफूले पहलकदमी लिने बताउनुभएको सहअध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।


प्रतिक्रिया