काठमाडौँ — भारत र चीनबीचको विवाद फेरि बल्झिने संकेत देखिएको छ । एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन जना भारतीय खेलाडीलाई चीनले खेल स्थल हाङझाउ जाने अनुमति नदिएपछि विवाद उत्पन्न भएको हो । उता चिनियाँ राष्ट्रपति सी जिनपिङले भने खेलकुदमार्फत सम्बन्ध सुमधुर बनाईने बताए । भारत र चीनबीचको सम्बन्धमा दशकौँदेखि दरार देखिन्छ । यि दुई देशबीचको मुख्य समस्या सिमा विवाद हो ।
त्यसो त सिमा विवादमा भारत र चीन पक्षका धेरै सैनिकहरुले समेत ज्यान गुमाईसकेका छन् । सिमा विवादसँगै भारत र चीनबीच व्यापारिक सम्बन्ध पनि त्यति राम्रो छैन । एकपछि अर्को विवादमा फस्दै आएका यि दुई देशबीच खेल क्षेत्रमासमेत खटपट आउन थालेको छ । एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन जना भारतीय खेलाडीलाई चीनले खेलस्थल हाङझाउ जाने अनुमति नदिँदा दुई देशबीचको सम्बन्धमा तिक्तता बढेको हो । यसको असर खेलकुद मन्त्रीलाई समेत परेको छ । भारतका खेलकुदमन्त्रीले चीन भ्रमण रद्द गरेका छन् ।
उसु खेलमा प्रतिस्पर्धा गर्न चयन भएका अरुणाचल प्रदेशका तीन जना महिला खेलाडीले एशियाली खेलकुद प्रतियोगिता आयोजक समितिले अनुमति दिए पनि ती खेलाडीलाई चीन सरकारले खेलाडी परिचयपत्र अथार्त (एक्रिडिएशन) नदिएपछि खेलमन्त्रीले भ्रमण नै रद्द गरेका हुन् । चीनले एक्रिडिएनलाई नै भिसाको मान्यता दिएकाले त्यसको अभावमा उनीहरू प्रतियोगितामा भाग लिनबाट वञ्चित भएका हुन् । चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतका रुपमा आफ्नो भूमि दाबी गर्दै आएको छ ।
उक्त प्रदेशको केही भूभागलाई लिएर नयाँ दिल्ली र बेइजिङबीच विवाद जारी छ । यसैबीच, भारतीय विदेश मन्त्रालयले खेलाडीमाथि चीनले गरेको भेदभावपूर्ण व्यवहारको निन्दा गरेको छ । विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले चीनको यो कदमबाट एशियाली खेलकुदको भावनामा गम्भीर आघात पुगेको बताएका छन् । खेलकुदको नियम उल्लङ्घन गरिएकाले नयाँ दिल्लीस्थित चिनियाँ दूतावास र बेइजिङस्थित भारतीय दूतावासमार्फत कडा विरोध समेत गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । आजबाट असोज २१ गतेसम्म हुने प्रतियोगितामा नेपाल, अफगानिस्तान, बहराइन, बङ्गलादेश, भूटान,चीनसहित ४५ देशले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा ४८ देश भएको एशिया महादेशका चार मुलुक युक्रेन, रुस, बेलारुस र इजरायल उक्त प्रतियोगितामा सहभागी छैनन् । अन्तरराष्ट्रिय ओलम्पिकक कमिटी आईओसीले युक्रेनमा रुसले आक्रमण गरेकाले मस्कोविरुद्ध प्रतिबन्ध लगाएको छ भने युक्रेन युद्धमा सघाएकाले रुसको सहयोगी बेलारुसलाई पनि प्रतिबन्ध लगाएको छ । धेरै अरब मुलुक उक्त प्रतियोगितमा सहभागी भएकाले विगतदेखि नै इजरायल एसियाली खेलकुद प्रतियोगिताबाट बाहिर रहँदै आएको छ । लामो समयदेखी विवादमा फस्दै आएको यी दुई देशको सम्वन्धमा फेरी फेरी तिक्तता हुने संकेत देखिएको छ ।


प्रतिक्रिया