Breaking

टिकटकमै सिमित तीज, भिडिओ बनाउन तछाडमछाड, छाडापनदेखि पशुपतिसम्मका दृश्य


काठमाडौँ — त्यसो त तीज र टिकटक फरक विषय हुन्, तर दुवैको महत्वपूर्ण पाटो भनेकै नाचगान भएको हुँदा यी दुई अन्योन्याश्रित जस्तै बनेका छन् । हरेक गतिविधिलाई टिकटकमा नै कैद गर्ने जमात बढ्दै जाँदा यो पनि तीजको एउटा अभिन्न अंग जस्तै बनेको छ । वर्षभरी मनमा गाँठो पारेर राखेको कुरा गीतबाट व्यक्त गर्दै नाचेरै भुलाउने परम्पार रही आए पनि अहिले समयसँगै तीज मनाउने तौरतरिका पनि केही बदलिँदै गएको छ ।

हिन्दु नारीहरुका विशेष पर्व हरितालिका तीज नाचगानको पर्व हुँदा तीजको रौनक अहिले टिकटकमा देखिन्छ । टिकटकका भिडियोबाटै तीज सुरु भएको अनुभूति हुने गरेको छ । तीजका विकृतीदेखि संस्कृतिसम्म सबै टिकटकमा नै देखिन्छ । सामाजिक सञ्जाल टिकटकलाई पछिल्लो समय नाचगानका लागि उपयुक्त मञ्चको रुपमा प्रयोग गरिदै आएको छ ।

त्यसैले तीजको महत्वपूर्ण पाटो पनि नाचगान भएको हुँदा के बालक, के युवा सबै उमेर समूहकाहरु टिकटकमा रमाउने गरेका छन् । तीजकै अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि पुगेका अधिकांश दर्शनार्थीहरु पनि सबै दुःख सुख भुलेर टिकटकमा मजाले रमाईरहेका देखिन्थे ।

तीज भड्किलो र उत्ताउलो हुँदा विकृती बढ्दै गएको भन्ने आधार पनि टिकटकमा नै आउने भिडियोलाई मानिन्छ । मन्दिरमा भन्दा बढी तीजको रौनक पार्टी प्यालेस हुँदा आर्थिक भार बढ्दै गएको भन्ने आधार पनि त्यही टिकटकमा हुने भिडियोले नै अवगत गराएको छ । हरेक गतिविधिलाई टिकटकमा नै कैद गर्ने जमात बढ्दै जँदा यो पनि तीजको एउटा अभिन्न अंग जस्तै भएको छ । दर्शनार्थीहरु टिकटकमा झुमिरहेको देख्दा संस्कृति र प्रविधि अन्योन्याश्रित जस्तै भइ सकेको भान भएको छ ।

अहिले ‘भाइरल’ हुने परिपार्टी निकै मौलाएको छ । भाइरल हुनकै लागि टिकटक प्रयोगकर्ताहरु विभिन्न हत्कण्डा अपनाउने गर्छन् । केही दिन अघि मात्रै पनि जीवन भर मद्यपान नगरेका महिलाहरुले भाईरल हुनकै लागि हातमा मदीराका बोटल लिँदै टिकटक भिडियो बनाएका थिए । चाहे जे होस् रीतिरिवाज पनि बिस्तारै प्रविधिमैत्री नै हुँदै जाँदा विकृती देखि संस्कृतिसम्म सबै यसमै छताछुल्ल भएको छ ।