काठमाडौँ — उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन स्वदेश पर्किएका छन् । किम जोङ उनको रूस भ्रमणले युक्रेनमा युद्धका लागि हतियार उपलब्ध गराउन सक्ने पश्चिमाहरूको आशङ्कालाई झन बढावा दिएको छ । भ्रमणका क्रममा उत्तर कोरियाली नेताले रूसी अन्तरिक्ष रकेटदेखि पनडुब्बीसम्मका सबै कुराको निरीक्षण गरेका थिए । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका शीर्ष नेता किम जोङ उन आईतबार स्वदेश पर्किएका छन् । रुस भ्रमणमा रहेका किम जोङ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘हार्दिक धन्यवाद’ समेत व्यक्त गरेका छन् ।
नेता किमले रूसको सुदूर पूर्वको भ्रमणले युक्रेनमा युद्धका लागि आणविक शक्ति सम्पन्न प्योङयाङले मस्कोलाई हतियार उपलब्ध गराउन सक्ने पश्चिमाहरूको आशंकालाई बढावा दिएको छ । भ्रमणका क्रममा उत्तर कोरियाली नेताले रूसी अन्तरिक्ष रकेटदेखि पनडुब्बीसम्मका सबै कुराको निरीक्षण गरेका थिए । यसमा पुटिनसँग राइफलको साङ्केतिक आदानप्रदान पनि समावेश रहेको छ । निकै महत्वपूर्ण मानिएको यो भ्रमणबीच सन् २०१६ मा बनेको रुसको अन्तरिक्ष केन्द्र भास्टोचनी कोस्मोड्रोममा भेट भएको थियो ।
भेटका अवसरमा रुसले उत्तर कोरियाको अन्तरिक्ष कार्यक्रममा सहयोग गर्ने आश्वासन दिएको अन्तराष्ट्र सञ्चारमाध्यमले जनाएको छ । यसका साथै उत्तर कोरियाली नेता किमले साम्राज्यवाद विरुद्धको युद्धमा रुसलाई साथ दिने बचन भएको उत्तर कोरियाली सञ्चारमाध्यम केसिएनएले जनाएको छ । भेटकै अवसरमा युक्रेनमाथिको रुसी आक्रमणलाई लक्षित गरी नेता किमले रुसी राष्ट्रपति पुटिनलाई रुसी सेनाले शत्रुहरूमाथि विजय हासिल गर्नेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् ।
उत्तर कोरिया र रूसको ऐतिहासिक मित्रता कायम रहेको छ । युक्रेन आक्रमणको लागि मस्को र आणविक हतियार परीक्षणको लागि प्योङ्याङ दुबै मुलुकले विश्वव्यापी प्रतिबन्धहरूको सामना गरिरहेका छन् । भ्रमणका क्रममा किमले पुटिनसँग दुर्लभ शिखर वार्ता गरेकाले रूससँगको द्विपक्षीय सम्बन्धलाई आफ्नो देशलाई पहिलो प्राथमिकता बनाउने बताएका थिए । अहिले उत्तर कोरियाको तोपको गोला युक्रेनमा प्रयोग गर्न रूस आतुर छ भने प्योङयाङले स्याटेलाइट प्रविधि र सोभियतकालीन सैन्य उपकरणको उन्नयनमा सहयोग खोजिरहेको विज्ञहरूले बताएका छन् ।
बुधबार पुटिन र किमबीच मस्कोबाट करिब आठ हजार किलोमिटर टाढा रहेको रूसको नयाँ भोस्तोच्नी कोस्मोड्रोममा भेटवार्ता भएको थियो । भेटपछि पुटिनले उत्तर कोरियासँग अझ बढी सहयोगको सम्भावना र सैन्य सम्बन्धका लागि ‘सम्भावना’ बारे कुरा गरेका थिए । तर रूसी प्रशासनिक केन्द्र क्रेमलिनले भने कुनै पनि सम्झौतामा हस्ताक्षर नभएको र नहुने बताएको छ ।
प्रतिक्रिया