Breaking

नेतृत्व छाड्ने ओलीको गफ मात्रै, ओली हटे एमालेमा माधवको ईन्ट्री ! के गर्छ दोस्रो पुस्ता ?


काठमाडौँ — नेपाली राजनीतिमा नेतृत्वको पुस्तान्तरण र हस्तान्तरणको विषय बेलाबेला चर्चामा आउने गर्छ । तर, नेताहरुले सहजै सत्ता हस्तान्तरण गर्ने गरेका छैनन् । पदमा पुगेपछि जीन्दगीभर टाँसिरहन खोज्ने प्रवृत्ति व्याप्त छ । यही बेला एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले राजनीतिमा सक्रिय रहँदै नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् । के ओली साँच्चै नेतृत्व हस्तान्तरण गर्न चाहन्छन ? नेतृत्व पुस्तान्तरणको विषय संस्थागत रुपमै सुरु गरेको नेकपा (एमाले)ले ७० वर्षे उमेरहद हटाउने निर्णयमा पुग्यो ।

अध्यक्ष केपी शर्मा ओलीको उमेरलाई हेरेर एमालेले ७० वर्षे उमेरहद हटाउने निर्णयमा पुगेको तीतो सत्य लुकेको छैन । यद्यपि, विधान महाधिवेशनले उमेरहद नहटाएसम्म कायमै रहन्छ । उमेर हदका कारण केही नेताहरूले नवौँ महाधिवेशनबाटै बिदा लिनुपरेको थियो । तर, अहिले उमेर हद हटाउने एमालेको निर्णय विवादित बनेको छ । यही बेला ओलीले राजनीतिमा सक्रिय रहँदै नेतृत्व हस्तान्तरण गर्ने बताएक छन् ।

ओलीको यो अभिव्यक्तिपछि एमालेको युवा पंक्तिमा उत्साह देखिएको छ । बाचुन्जेल पद छाड्न नचाहने नेताहरूमा भने छटपटी देखिएको छ । राजनीतिमा सक्रिय रहेकै बेला नेतृत्व हस्तान्तरण र पुस्तान्तरणले राम्रो सन्देश प्रवाह हुन्छ । तर, ओलीको यो अभिव्यक्ति व्यवहारतः कार्यान्वयन हुन्छ कि हुँदैन समयले नै बताउने छ । प्रदेश अधिवेशनमा रहेको एमालेका लागि ओलीको अभिव्यक्ति अर्थपूर्ण छ । एमाले नेताहरू भने, तत्काल नेतृत्व हस्तान्तरण वा पुस्तान्तरणको सम्भावना देख्दैनन् ।

पूर्वराष्ट्रपति तथा एमालेको पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेका बेला उनैलाई सहज पार्न ओलीको अभिव्यक्ति आएको मान्नेहरु पनि छन् । पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनुहुन्छ कि हुँदैन भन्नेमा एमालेभित्र एकमत छैन् । भण्डारीलाई राजनीतिमा फर्काउन चाहनेहरु ओलीको नेतृत्वमा एमालेले निर्वाचनमा राम्रो नतिजा ल्याउन नसकेको दाबी गर्छन । आगामी निर्वाचनमा पनि खतरा औल्याउदै एकथरी नेताहरू भण्डारी निवास धाइरहेका छन् । तर, खुला रुपमा ओलीलाई भीम रावलबाहेक अरुले चुनौती दिन सकेका छैनन् ।

नेतृत्व परिवर्तन र पुस्तान्तरणको विषय भित्रभित्रै उकुसमुकुस अवस्थामा रहेपनि कतै अध्यक्ष ओलीसँग परिवर्तनको बहस र तर्क गर्दा भिम रावलको हालत त हुने होइन भन्ने डर प्रायः सबैमा देखिन्छ । पुस्तान्तरणकै अभ्यासस्वरुप एमालेले पार्टीमा ७० वर्षे उमेरहद लागू गरेको थियो । पुनः ओली नै अध्यक्ष बन्ने बाटो खुलाउन उमेरहद हटाउने निर्णय एमालेले गरिसकेको छ । आगामी विधान महाधिवेशनले लिने निर्णयले एमालेमा नेतृत्व पुस्तान्तरणको विषय टुंगो लाग्नेछ ।