काठमाडौँ– रूस र युक्रेन बीचको युद्ध जटिल मोडमा पुगेको छ । झट्ट हेर्दा दुई देश बीचको युद्ध देखिए पनि भित्री पाटा अनेक छन् । तेस्रो विश्वयुद्धको खतरासमेत औल्याउन थालिएको छ । युक्रेनसँग युद्ध सुरु गर्दा रूसले सहज जितको सपना देखेको थियो । तर, यो युद्ध अत्यन्त कठिन एवं भयावह बन्दै गएको छ । रूसको आक्रामक युद्ध विस्तारै रक्षात्मक बन्ने स्थितिमा पुगेको देखिन्छ । त्यसको भित्री कारण युक्रेनलाई अमेरिकासहित पश्चिमा शक्तिहरुले साथ दिनु नै हो ।
विदेशीले युक्रेनलाई हतियार सहयोग जारी राखे परमाणु क्षेप्यास्त्र प्रक्षेपण गर्न बाध्य हुने चेतावनी रूसले दिन थालेको छ । केहीले रूस–युक्रेन युद्धलाई भौगोलिक अखण्डता र स्वाधीनता माथिको हस्तक्षेप भन्दैछन् भने केहीले अमेरिकी दादागिरीका रूपमा औल्याएका छन् । शीतयुद्धको अन्त्यपछि रूसलाई निरन्तर घेराबन्दी गर्ने योजना बनाइरहेको अमेरिकाले हाल युक्रेनलाई प्रयोग गरेको छ । पूर्व सोभियत संघबाट अलग्गिएका अधिकांश देशलाई अमेरिकाले नाटोमा सामेल गरिसकेको छ भने अब स्विडेन, फिनल्याण्ड र युक्रेनलाई सामेल गर्ने योजनामा छ ।
रूसका सबै छिमेकी मुलुकहरूलाई नाटोमा सामेल गरेर कालान्तरसम्म रूसलाई कमजोर बनाउने रणनीतिमा अमेरिकालगायत जी—सेभेनमा अवद्ध देशहरू क्रियाशील रहेको आरोप लाग्ने गरेको छ । युक्रेन र फिनल्याण्ड नाटोमा सामेल हुँदा आफ्नो स्वाभाविक पराजयको रूपमा रूसले बुझेको छ । कतिपयले रूस–युक्रेन युद्धलाई अमेरिकाको हतियार व्यापारसँग जोडेर हेर्ने गरेका छन् । हतियार बिक्रीकै कारण अफगानिस्तान, इराक, लिबिया, इजिप्ट, लेवनान र सिरियामा सत्ता राजनीति उथलपुथल भएको विश्लेषकहरु दाबी गर्छन ।
रूस–युक्रेन युद्धमा पनि अमेरिकीले हतियार राजनीति गरेको आरोप लाग्ने गरेको छ । यहीबेला फेरि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अमेरिका भ्रमणको तालिकाले विश्व राजनीति तरंगित भएको छ । जेलेन्स्की अर्को हप्ता अमेरिकाको भ्रमण गर्दै छन् । रूस–युक्रेन युद्ध जारी रहेको बेला रूसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्तालाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । रूस र उत्तर कोरिया निरन्तर सम्बन्धमा रहनु र अमेरिकाले युक्रेनलाई काखी च्याप्नुले भयावह भविश्यको कल्पना गर्न थालिएको छ । यो युद्ध लम्बिदै जाँदा देशहरू बीच ध्रुविकरण बढ्दै जाने र त्यसले तेस्रो विश्वयुद्धको खतरा निम्त्याउने आँकलन गर्न थालिएको छ ।


प्रतिक्रिया