काठमाडौँ — नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूलाई नाइजरस्थित फ्रान्सेली राजदूत र अन्य फ्रान्सेली कूटनीतिज्ञहरूलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको बताएका हुन् । यतिबेला पश्चिमी अफ्रिकी देश नाइजरमा सैनिकले सत्ता चलाई रहेको छ । त्यहाँका सेना प्रमुखले देशको संविधान भंग भएको घोषणा गर्दै राष्ट्रपति मोहम्मद बजुमलाई गत जुलाई २६ मा अपदस्थ गरी सेनाले नाइजरको सत्ता आफ्नो हातमा लिएको थियो ।
योसँगै त्यसलाई फ्रान्सले अस्वीकार गर्दै राष्ट्रपतिलाई निःशर्त हिरासतमुक्त गरेर पुनःस्थापना गर्नुपर्नेमा जोड दिँदै आएको छ । तर नाइजरका सैनिकले यस्लाई स्विकार गरेको छैन । फलतः नाइजरस्थित फ्रान्सेली राजदूत र अन्य फ्रान्सेली कूटनीतिज्ञहरूलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको छ । विद्रोही नयाँ सैन्य नेतृत्वसँगको मतभेदका कारण राजदूतसहित कूटनीतिक कर्मचारी बन्धक बनाएका हुन् । फ्रान्सेली राष्ट्रपतिले राजदूत सिल्भेन इट्टलाई बाहिर निस्कन नदिइएको तथा खाद्यान्न आपूर्ति पनि रोकिएकाले उनीसहित सबै कूटनीतिक कर्मचारीले सैनिक रासन खाइरहेका बताए । सैन्य विद्रोहबाट सत्ता कब्जा गरेपछि नयाँ सरकारले राजदूत इट्टलाई देश छाड्न आदेश दिएको थियो ।
राजदूत इट्टले सैन्य सरकारको आदेश अस्वीकार गरेपछि उनको भिसा खारेज गर्दै उनलाई निष्कासन गर्न प्रहरीलाई निर्देशन दिएको छ । नाइजरको शान्ति–सुरक्षा तथा विकासमा सघाउन परिचालन भएका फ्रान्सेली सैनिकलाई फिर्ता गर्न सैनिक सरकारले सत्ता कब्जा गरेको दिनदेखि नै गर्दै आएको छ । फ्रान्सले भने राष्ट्रपति मोहम्मद बाजुम नेतृत्वको सरकासँगको सम्बन्ध एवं वैधताअनुसार व्यवहार गर्ने दोहो¥याउँदै आएको छ । राजदूतलाई उद्धार गर्ने सम्बन्धमा सोधिएको जिज्ञासाको जवाफ पनि राष्ट्रपति माक्रोँले राष्ट्रपति बाजुमसँगको सहमतिअनुसार गर्ने बताउँदै उनीसँग आफू निरन्तर सम्पर्कमा रहेको बताए । नाइजरको वैधानिक शासक राष्ट्रपति बाजुम भएको दोहो¥याउँदै उनले सैन्य शासकलाई फ्रान्सले अनुमोदन नगरेको स्पष्ट गरे ।
फ्रान्सेली विदेश मन्त्री क्याथरिन कोलोनाले नियामेस्थित दूतावासमा सानो टोलीका साथ राजदूत इट्टले काम गरिरहेका बताउँदै जति दिन उनी त्यहाँ रहन चाहन्छन् त्यो निजमा नै निर्भर हुने जनाएकी छन् । यद्यपि उनले राजदूतलाई फिर्ता बोलाउने विषय राष्ट्रपतिको निर्णयमा निर्भर हुने पनि बताइन् । फ्रान्सले नाइजरबाट आफ्ना सेनालाई फर्काउनेबारेमा पनि सैनिक अधिकारीहरूसँग छलफल गरिरहेको बताइएको छ ।
सैनिक विद्रोहपछि नाइजरका नागरिकमा फ्रान्स विरोधी भावना पनि बढेकाले चाँडै नै पेरिसले सेना फर्काउनसक्ने अफ्रिकी मुलुकमा सेवा गरेका एक जना पूर्व फ्रान्सेली राजदूतले बताएका छन् । आफ्ना एक जना छोरा र श्रीमतीका साथ सैनिक हिरासतामा रहेका राष्ट्रपति बाजुमलाई सेनाले अमानवीय व्यवहार गरेको, आधारभूत आवश्यकताबाट वञ्चित गरेको उनको पार्टीले बताएको छ । हिरासतमा कष्टकर जीवन बिताइरहेका उनले कठोर सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउन स्वतन्त्रताका पक्षधर सबै नाइजरवासीलाई आह्वान गरेका छन् ।


प्रतिक्रिया