काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले करिब ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलाई बुझाउने तयारी गरेको छ । आरोपीहरु पक्राउ गरी अनुसन्धान सुरु भएको आज ५६ दिन पुगेको छ । ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्नेछ।
भदौ ३० गतेभित्र मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरी अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताउनुभयो । विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएको अवस्थामा गत साउन २ गते सिनामंगलबाट ठूलो मात्रामा अवैध सुन बरामद भएको थियो। सुन तस्करी प्रकरणमा ३० जना पक्राउ परेका छन्। सीआईबीका अनुसार चिनियाँसहित ९ विदेशी र २१ नेपालीलाई मुद्दा चलाउने गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गर्न लागिएको छ।
सुन प्रकरणमा पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक, भन्सार कर्मचारी, भन्सार एजेन्ट, सुन व्यापारी तथा बिचौलियाहरू छन्।अहिलेसम्मको अनुसन्धानबाट चिनियाँ नागरिक याओ पुचेङ्ग सुन प्रकरणको मुख्य योजनाकारको रुपमा देखिएका छन् । सुन तस्कर समूहमा ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग नै सुन ल्याउने समूहका मुख्य योजनाकार भएको अनुसन्धानमा संलग्न अधिकारीकहरुको भनाई छ ।नेपालका ‘हाई प्रोफाइल’सँग सम्पर्कमा रहेका दावा छिरिङ सुन तस्करीको मुख्य योजनाकार नभएको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।


प्रतिक्रिया