अटो

नेपाली बजारमा बिवाइडीको ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक


काठमाडौँ – नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवं वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रममार्फत ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक गरेको हो ।
कम्पनीले बिवाइडीको यो फ्युचरिस्टिक डल्फिनको सुरुवाती मूल्य ३९ लाख ८० हजार तोकेको छ । बिवाइडी डल्फिन नेपाली बजारको बहुप्रतीक्षित ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी हो । यो ह्याचब्याग बिवाइडीको ओसियन सिरिजको पहिलो गाडी हो ।

बिवाइडी डल्फिनमा ४४।९ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ । यसले ७ किलोवाटको चार्जर समर्थन गर्छ । गाडीलाई एक पटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ ।

बिवाइडी डल्फिनको शुभारम्भले नेपालमा नयाँ ऊर्जा यात्रुवाहक सवारी साधन व्यवसायको क्षेत्रमा कोसेढुंगा सावित भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

बिवाइडी डल्फिन अत्याधुनिक बिवाइडी ई-प्लेटफर्म ३.० मा उत्पादन गरिएको छ । यो सेल-टु-प्याक (सिटिपी) प्रविधिमा आधारित छ । अर्थात् यसको ब्याट्री गाडीको बडीमै एकीकृत गरी तयार पारिएको छ, जसमा ब्लेड ब्याट्री र ट्रे समावेश गरी एक ‘स्यान्डविच’ जस्तो संरचना बनेको छ । यस प्रकारको प्रविधिले ब्याट्री प्याक भोल्युमलाई कम गर्दै क्याबिन स्पेस खुला गर्छ ।

सोमबार भएको कार्यक्रममा साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले ग्राहकलाई अत्यन्त सन्तुष्टि र नेपालमा विद्युतीय गतिशीलताको अनुकूलन सुनिश्चित गर्न कम्पनी प्रतिबद्ध रहेको बताइन् ।

त्यस्तै साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बिवाइडी विद्युतीय गाडी अटोमोबाइलको रूपमा मात्र बिक्री नगर्ने, बरु यसलाई समाधानको रूपमा बिक्री गर्ने बताए ।

‘यो भनेको देशको घरेलु ऊर्जा खपत र दिगो विकासको आवश्यकतालाई पूरा गर्ने जीवनशैली हो । हामी ग्राहकका लागि प्रत्येक सीमामा ग्राहक अनुभव बढाउन र इको प्रणाली निर्माण गर्न केन्द्रित छौं,’ उनले भने । कम्पनीका अनुसार बिवाइडी डल्फिनको वितरण नाडा अटो सो २०२३ पछि सुरू हुनेछ ।