Breaking

भड्कियो जातीय द्धन्द, प्रचण्ड नै दोषी ! जात्रा र रथयात्रामै कुटाकुट, ओली भन्छन्, अराजकता अझ बढ्न सक्छ


काठमाडौँ — कुनै धर्मालम्बीप्रति धर्मका आधारमा भेदभाव नगरिने राज्यको नीति नै धर्म निरपेक्षता हो । त्यहि लक्षसहित नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भएको १७ वर्ष बित्यो । धर्म निरपेक्षता भनेको धर्मको विरोध नभई धर्मदेखि स्वतन्त्र हुन हो । तर, केही समयदेखि नेपालमा धार्मिक सद्भाव खल्बल्याउने प्रयास भईरहेको छ । धर्मसँगै जातीय दंगा भड्काउने प्रयत्नले नेपाल फेरि अर्को युद्धमा होमिने हो कि ? भन्ने डर सुरु भएको छ ।

नेपालमा साम्प्रदायीक हिंसा भड्काउने कोसिस भईरहेको पुष्टि धरानपछि सर्लाहीको मलंगवार रौतहटलगायत देशका विभिन्न ठाउँहरुमा भईरहेका घटनाले गरेको छ । कृष्ण अष्टमीको मुर्ती विषर्जन गर्ने क्रममा दुई समूहबीच उत्पन्न तनाव कमगर्न जिल्ला प्रशासन कार्यलय सर्लाहीले शनिबार साँझ ५ बजेदेखि कफर््यु नै जारी गर्नुपरेकोछ । गाईगोरुको मासु खान पाउने कि नपाउने भनेर धरानबाट सुरु भएको विवाद बिस्तारै सेलाउने प्रयत्नमा रहँदा देशका विभिन्न ठाउँमा भने फेरि यो विषयलाई पेचिलो बनाउने र सामाजिक सद्भाव खल्बल्याउने प्रयत्न भईरहेको हो । धरानबाट सुरु भएको गौहत्याको विषयलाई फेरि उचाल्नकै लाथि शनिबार काठमाडौंको माईतीघरमा गौहत्याविरुद्ध प्रदर्शन भएको छ ।

शनिबार नै नेकपा एमालेको भ्रातृ संगठन युवा संघको कोशी प्रदेश अधिवेशन चल्दै थियो । तर धरानमा पहिचानवादीहरूले प्रदर्शन गर्दा अधिवेशन बिथोलियो । युवा संघ र पहिचानवादीबीच झडपको अवस्था आउन नदिन बाक्लो संख्यामा सुरक्षाकर्मी नै परिचालन गर्नुपर्यो । साम्प्रदायिक हिंसातर्फ देश अघि बढिरहेको समयमा खल्बलिन लागेको धार्मिक र जातिय सद्भावलाई सहि ठाउँमा ल्यानुपर्ने ठाउँमा राजनीतिक दलहरुलेसमेत संयमता नअपनाएको देखिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयंले पनि आफ्नो पार्टीले आवश्यक बहुमत ल्याएको दिन जातीय राज्य दिने अभिव्यक्ति दिन छाडेका छैनन् । सत्ताको बागडोर सम्हालिरहेकै व्यक्तिहरुले नै जातिय पहिचानको विषयलाई नत्याग्दा फरक विचार भएकाहरुले त्यसविरुद्ध आगो ओकल्न छाडेका छैनन् । नेपाली कांग्रेसका नेता शेखर कोइराला जातिय सद्भाव खल्बलिएको समयमा मल्हम लगउनुपर्ने ठाउँमा प्रधानमन्त्री स्वयंले नै जातीय राज्य दिन्छु भनेर अराजकता निम्त्याएको आरोप लगाउँछन् ।

उसो त ९४ प्रतिशत सनातन हिन्दु धर्म मान्नेहरुको बसोबार रहेको नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउन नहुने भन्दै एउटा समूह २०६३ साल जेठ ४ गतेदेखि नै विरोधमा छ, जुन दिन नेपाललाई धर्म निरपेक्ष राष्ट घोषणा गरिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत केही राजनीतिक शक्तिले यो विषयलाई राजनीतिक मुद्दा नै बनाउँदै आएका छन् । हिन्दु राष्ट्र घोषणा गरेरै छाड्ने भनेर७ वर्षदेखि बोल्दै आएका केही शक्तिहरु अहिले भने जसरी हुन्छ यो विषयलाई उचाल्न चाहिरहेका छन् । जातिय द्धन्द भड्काउनकै लागि मंगोल नेशनल अर्गनाईजेशनजस्ता राजनीतिक शक्तिहरुकोसमेत जन्म भएको छ ।

उसले बाहुनबादको विरोध गर्दै बाहुन क्षेत्रिलाई देशबाटै निकाल्नुपर्ने जस्ता अराजक अभिव्यक्ति दिँदै आएको छ ।एकआपसमा मिलेर बसिरहेको समूदायबीच मनमुटाव गराउने आगो धरानबाट सल्किँदा यसको झिल्कोले देश नै बर्बादितिर लैजाने संकेत देखिन थालेको छ । सबै जाति एकै ठाउँमा भएको हेर्न मन नपराउनेहरु साम्प्रदायीक हिंसातर्फ देशलाई लैजान खोजिरहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरुले अराजकता फैलाईरहेको बताउँछन् ।

ताप्लेजुङमा जात्राको विषयमा निम्तिएको विवादले प्रहरी संगठन र राजनीतिक वृत्त तरंगित छ । जात्रामा भएको विवादपछि कोशी प्रदेशसभा सदस्य खगेनसिं हांगमले ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा प्रहरी प्रशासनविरुद्ध घरेलु हतियारसहितको प्रदर्शन मात्रै गरेन, खुला सभामै हिंसात्मक अभिव्यक्ति दिएका छन् । रौतहटको गौरस्थित राम–जानकी मन्दिरका पुजारीमाथिको आक्रमण पनि भर्खरैको हो ।

पुजारी मिश्रीलाल साहमाथि आक्रमण भएको घटनाले पनि नेपालमा साम्प्रदायिक हिंसा भड्कँदै छ भन्ने संकेत हो । उसो त नेपालमा साम्प्रदायिक हिंसा भड्काउने काम छिमेकी देशबाट पनि भईरहेको देखिन्छ । कथित बाबा बागेश्वरदेखि कालिबाबा हुँदै भारतबाट आफूलाई हिन्दु धर्मका बाब भन्नेहरु भटाभट नेपाल आएर हिन्दु धर्मको लविङ गरिरहेका छन् ।

उनीहरुको नेपाल प्रवेशसँगै नेपालमा जातिय र धार्मिक द्धन्द निम्त्याउने प्रयत्न भईरहेको देखिन्छ । नेपालको विविधताबीचको एकता र सद्भाव एवम् सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भईरहेको पछिल्ला घटनाक्रमले पुष्टि गर्दै लगेको छ । जाितय, भाषिक र धार्मिक एकता, सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, बिग्रह ल्याउने खतरा बढेको गृहमन्त्री नारायणकाजी श्रेष्ठ बताउँछन् ।

नेपालमा हिन्दु राष्ट्र कायम गर्ने अन्तिम प्रयासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत रहेको चर्चा छ । विश्वका धेरै देशमा धर्मका नाममा युद्ध र द्वन्द्व भएका छन् । धार्मिक द्वन्द्वले कहिल्यै प्रश्रय नपाएको देश नेपालमा अहिले केही धार्मिक अतिवादीले खेल्ने मौका खोजिरहेका छन् । छिमेकी राष्ट्र भारतमा हिन्दु र मुस्लिमबिच पटकपटक धार्मिक दंगा भइसकेको छ । हिन्दु अतिवादीले क्रिश्चियनमाथि र शिखमाथि पनि आक्रमण गरेका छन् ।

कस्मिरमा भएको हिन्दु–मुस्लिम दंगामा हजारौं मानिस मारिएका थिए । त्यहाँको दंगा अझै सेलाएको छैन । श्रीलंकामा बुद्धिष्ट र हिन्दुबिच बेलाबेलामा द्वन्द्व भइरहन्छ । इन्डानेसियाको मलकु आइल्यान्डमा सन् १९९९ मा भएको मुस्लिम–क्रिश्चियन दंगामा ६ हजारभन्दा बढी मानिस मारिएका थिए ।

बोस्निया हर्ज गोभिना, सुडान तथा अन्य थुपै्र देशमा धर्मका कारण द्वन्द्व भड्किएको छ । पूर्वी टिमोरमा क्रिश्चियन र मुस्लिमबिच युद्ध जारी नै छ ।विश्वका यी धार्मिक युद्धबाट शिक्षा लिएर नेपालले धार्मिक सद्भाव खलबलाउने काम रोक्न राजनीतिक दल, नागरिक समाज, स्थानीय सामाजिक संस्था एक जुट हुन जरुरी छ । अहिले झिल्कोका रूपमा देखिएको धार्मिक सद्भाव भोलिको दिनमा अन्य क्षेत्रमा भुसको आगोसरि नसल्केला भन्न सकिन्न ।