विदेश

भारतले नाम फेर्दै, मोदीको कदममा कलाकार र खेलाडिको समर्थन, संविधान संवोधनको तयारी !


काठमाडौँ — आफ्नो अंग्रेजी नाम इन्डिया हटाउने भारतको तयारी, विपक्षी गठबन्धनको विरोध, नाम संशोधन गर्न संविधान नै परिवर्तन गर्नुपर्ने जानकारहरुको तर्क । हाल भारतले आफ्नो अङ्ग्रेजी नाम इन्डिया हटाउन लागेको सर्वत्र चर्चा छ । भारतलाई भारत र इन्डिया सँगै हिन्दुस्तान, आर्यव्रत, जम्मूद्विप जस्ता नामले पनि पुकारिन्छ । तर पछिल्लो समय नाम परिर्वतनले भारतमा ठुलै हलचल निम्त्याको छ । कलाकारदेखी खेलाडि र नेताहरुले आफ्नो आफ्नो तर्कहरु राखेका छन् । भारतमा यतिबेला अङ्ग्रेजी नाम हटाउन लागेको सर्वत्र चर्चा छ ।

चर्चासंगै सरकारले व्यापक आलोचना खेप्दै आईरहेका छन् । नयाँ दिल्लीमा आयोजना हुन लागेको जी २० शिखर सम्मेलनअघिको डिनरका लागि राष्ट्रपति कार्यालयबाट पठाइएको निमन्त्रणामा प्रेसिडेन्ट अफ इन्डिया हुनुपर्नेमा प्रेसिडेन्ट अफ भारत लेखिएको छ । यो निमन्त्रणाले त झनै ठुलो हलचल ल्यायो । त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि प्रइममिनिस्टर अफ भारत भनिएको छ । यससँगै भारतले आफ्नो अङ्ग्रेजी नाम पनि भारत नै राख्न लागेको चर्चा चुलियो । आलोचकहरु भने हालै विपक्षीहरुले गठन गरेको इन्डियन नेशनल डेभलपमेन्टल इन्क्लुसिभ अलायन्स अर्थात् इन्डिया गठबन्धनलाई काउन्टर गर्नका लागि भारत सरकारले नाम परिवर्तन गर्न लागेको बताउने गरेका छन् ।

यद्यपि साँस्कृतिक राष्ट्रवादी विचारधारा बोकेका सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुले भने विपक्षीसँगको डरले नभई औपनिवेशिक पहिचान हटाएर मौलिक पहिचानलाई प्रवद्र्धन गर्न भारत शब्दलाई महत्व दिइएको बताउने गरेका छन् । यता देशको नामबाट इण्डिया हटाएर भारत मात्रै राख्ने सरकारको सम्भावित तयारीबीच बलिउड कलाकारहरु अमिताभ बच्चन र कंगना रनौत यसको पक्षमा खुलेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै कंगनाले सन् २०२१ मा आफूले चाँडै देशको नाम इण्डियाबाट बदलेर भारत मात्रै हुने भविष्यवाणी गरेको बताइन् ।

कंगनाले एक्समा पुरानो अन्तर्वार्ताको स्क्रिनसट सेयर गरेकी छिन्, जसमा उनले दुई वर्षअघि देशको नाम परिवर्तन गर्ने इच्छा व्यक्त गरेकी थिइन् । उनले भनेकी छिन इण्डिया नाम हामीलाई अंग्रेजले दिएका थिए, त्यसैले देशको नाम भारत हुनुपर्छ । कंगनाभन्दा पहिले अभिनेता अमिताभ बच्चनले सामाजिक सञ्जालमा लेखेका छन् भारत माता की जय । बिग बीको यो ट्वीटलाई देशको नाम इण्डियाबाट भारतमा परिवर्तन गर्न मौन समर्थनको रूपमा वर्णन गरिएको छ । पूर्व भारतीय क्रिकेटर वीरेन्द्र सहवागले पनि इण्डियाबाट भारत एकीकरणको पक्षमा समर्थन जनाएका छन् । इण्डिया भर्सेस भारतको बहस अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ ।

कतिपय मानिस देशको आधिकारिक नामबाट इण्डिया हटाउने पक्षमा छन् भने कतिपयले विरोध गरिरहेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (बीजेपी)सहितका दल देशको नाम भारत राख्नुपर्ने पक्षमा छन् भने प्रतिपक्षी कांग्रेस आई लगायतका दल भने विपक्षमा उभिएका छन् । उसो त कुनै मुलुकले आफ्नो नाम फेर्नु नौलो कुरा भने होइन । थाइल्याण्डलाई पनि कुनै समय सायाम भन्ने गरिन्थ्यो, उसले देशको नाम फेरेर थाइल्याण्ड राखेको छ । त्यस्तै, दक्षिण एसियामै पनि श्रीलंकालाई कुनै समय सिलोन भनेर पुकारिन्थ्यो ।

कुनै समय फारस भनेर चिनिने देशले पनि आफ्नो नाम परिवर्तन गरी इरान राखेको हो । युनानी र स्लाभिक पहिचानको मारमा परेको मेसेडोनियाले आफ्नो नाम परिवर्तन गरी उत्तरी मेसेडोनिया राखेको धेरै भएको छैन । त्यस्तै, टर्कीले आफ्नो केही महिनाअघि नाम फेरेर टर्किए राखेको छ । भारतीय संविधानको पहिलो खण्डको पहिलो बुँदामै ‘भारत, अर्थात, इन्डिया, राज्यहरुको संघ हुनेछ ।’ भनिएको छ ।

इन्डिया शब्द मुलुकको संविधानको पहिलो खण्डको पहिलो भागमै रहेकाले मुलुकको नाम परिवर्तन गर्नका लागि पनि संविधान संशोधन गर्नुपर्ने कतिपय जानकारहरु बताउँछन् । यस्तो अवस्थामा भारतमा सरकार एकलौटी रुपमा नाम परिवर्तन गर्न सक्दैन, यसका लागि संविधान नै परिवर्तन गर्नुपर्ने अवस्था आउनसक्ने राजनीतिक मामिलाका जानकारहरु बताउँछन् । भारत सरकारले आगमी सेप्टेम्बर १८ तारिखका लागि संसदको विशेष बैठक डाकेको छ । भारत सरकारले आफ्नो नाम परिवर्तन गर्नका लागि सोही बैठकमा प्रस्ताव ल्याउनसक्ने भारतीय राजनीतिक वृत्तमा चर्चा छ ।