काठमाडौँ — उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा उसले त्यसको मूल्य चुकाउनुपर्ने अमेरिकी अधिकारीले बताएका छन् । उत्तर कोरिया र रुसबीच हतियार आपूर्तिलाई लिएर सघन वार्ता सक्रिय रूपमा अगाडि बढिरहेको तथा उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा जाने विवरण सार्वजनिक भइरहेका बेला वासिङ्टनको यस्तो टिप्पणी आएको हो । उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न यसै महिना रुसको भ्रमण गर्दै छन् ।
रुसको भ्रमण गर्नु भन्दा अगाडि नै अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले उत्तर कोरिया र रुसबीच हतियार बिक्रीको सम्बन्धमा बैठक केन्द्रित हुने दाबी गरेकी छन् । किमले रुससँग हतियारबारे छलफल गर्न चाहेको जानकारी आफूहरूसँग रहेको भन्दै एड्रियनले रूस र उत्तर कोरियाबीच हतियार वार्ता सक्रिय रूपमा अगाडि बढिरहेको बताएकी हुन् । यता उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा उसले त्यसको ‘मूल्य’ चुकाउनुपर्ने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् ।
उत्तर कोरिया र रुसबीच हतियार आपूर्तिलाई लिएर वार्ता सक्रिय रूपमा अगाडि बढिरहेको तथा उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा जाने विवरण सार्वजनिक भइरहेका बेला वासिङ्टनले यस्तो टिप्पणी गरेको हो । यदि उत्तर कोरियाले युक्रेनविरुद्ध युद्ध लड्न रुसलाई हतियार प्रदान गरेमा उसले त्यसको मूल्य चुकाउनुपर्ने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारको भनाई छ । उत्तर कोरियाली नेता किम राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार वार्ता गर्न यसै महिना रुसको भ्रमण गर्ने योजनामा रहेको बताउँदै सल्लाहकार सुलिभानले दुवै नेताबीच कहिले भेटवार्ता हुन्छ भन्नेबारेमा केही खुलाएनन् ।
उनले नेताद्वयबीच रुसमा भेटवार्ता हुने जानकारी अमेरिकासँग रहेको दाबी गरे । गत जुलाईमा रुसी रक्षामन्त्री सर्गेई शोइगुको उत्तर कोरियाको भ्रमणपछि नेता किम रुस भ्रमण निस्कन लागेका हुन् । युक्रेन युद्धका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय दबाबमा परेका भ्लादिमिर पुटिनले हाल उत्तर कोरियासँग मिसाइल लगायतका हतियार खोजिरहेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचारहरु लेख्दै आएका छन् । यता सेप्टेम्बर दोस्रो साता पुटिनसँग भेट्नका लागि किम मस्को जाने तयारी गर्दै छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच पहिलो पटक ४ वर्ष अघि रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्तकमा भेटवार्ता भएको थियो ।


प्रतिक्रिया