Breaking

कोशी प्रदेश सरकारविरूद्धको रिटमा आज जवाफी बहस, आदेश आउने सम्भावना


काठमाडौँ – कोशी प्रदेश सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइमा आज जवाफी बहस हुँदैछ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरूद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ । निवेदक र प्रतिवादीको बहसपछि आज जवाफी बहस हुन लागेको हो ।

न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसमा कोशीका मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख परशुराम खापुङविरुद्धको रिटबारे सर्वोच्चमा विगत गत एकसातायता सुनुवाइ भइरहेको छ ।

सर्वोच्चको पूर्ण इजलासमा भएको सुनुवाइमा मंगलबार मुख्यमन्त्री उद्धव थापासहितका प्रतिवादीको तर्फबाट बहस भएको छ । यसअघि सोमबार निवेदकको तर्फबाट हिक्मत कार्की पक्षले बहस गरेका थिए । पूर्ण इजलासमा सोमबारदेखि बहस अघि बढे पनि सुनुवाइ नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुधबार सार्वजनिक बिदा भएका कारण आज जवाफी बहस हुन लागेको हो ।

निवेदक र प्रतिवादीको बहस मंगलबारै सकिएको छ । जवाफी बहसपछि आजै आदेश आउने सम्भावना रहेको स्रोतले जनाएको छ । विपक्षीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नै रहेको दाबी गरेका छन् ।

यो रिटलाई कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा पठाउने निर्णय भएको थियो । त्यही अनुसार सोमबारदेखि पूर्ण इजलासमा बहस अघि बढेको हो । न्यायाधीश प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले आइतबार उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय दिएकी थियो ।