काठमाडौँ — एसिया कप क्रिकेट खेल्न गएका नेपाली खेलाडी स्वदेश फर्किएका छन् । विश्व बिजेता टोली भारत र पाकिस्तानसँग ऐतिहासिक प्रतिस्पर्धा गरेको नेपाली टोली फर्किएको हो । टोलीलाई विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्ड बाजागाजासहित स्वागत गरिएको हो ।
खेलाडीहरुको स्वागत गर्न सयौँ समर्थक राष्ट्रिय झण्डासहित विमानस्थल पुगेका थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधबार राष्ट्रिय झण्डासहित पुग्नेहरुको भीड बाक्लै देखियो । विमानस्थलमा उनीहरुको मात्रै भीड थिएन, ससस्त्र प्रहरीको एउटा समूह पनि ब्यान्ड बाजासहित विमानस्थल पुगेका थिए । भारत र पाकिस्तानसँग ऐतिहासिक प्रतिष्पर्धा गरेर नेपाल फर्किएको खेलाडीको टोलीलाई स्वागत गर्न उनीहरु विमानस्थल पुगेका हुन् ।
पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएका नेपाली खेलाडीहरुले विश्व क्रिकेटका महारथि भारत र पाकिस्तानसँग खेल जित्न नसके पनि खेलाडीहरुले नेपाली समर्थकको मन भने जितेका छन् । खेलाडीलाई स्वागत गर्न नेपाल क्रिकेट संघ –क्यान) का पदाधिकारीसहित क्रिकेट समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरूलाई बाजागाजासहित दोसल्ला र मालाले स्वागतमात्रै गरिएन, क्रिकेट समर्थकहरुले खेलाडीसँग तस्बिर लिन तछाडमछाड नै गरे ।
प्रतियोगितामा नेपालले पहिलो खेल मुल्तानमा एकदिवसीय क्रिकेटको शीर्ष टोली पाकिस्तानसँग खेलेको थियो भने दोस्रो खेल श्रीलङ्काको क्यान्डीमा भारतसँग खेलेको थियो । दुवै खेलमा पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिनपुगेको थियो । एसिया कप खेलेर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग बोल्दै रोहितले भने – ‘अब चाहिँ हाई टाइम भईसक्यो, पूर्वाधारमा लगानी गर्नुपर्छ । जहिल्यै पनि ती कुराहरुमा संघर्ष गरिरहेका हुन्थ्यौँ हामी । डोमेस्टिक स्ट्रक्चर छैन केही पनि ।’ प्रत्येक प्रदेशमा ग्राउन्ड खासगरी पिचहरु भयो भने तयारी गर्न सकिन्ने उनको भनाई छ ।
नेपाली खेलाडीलाई हौसला दिन विभिन्न देशमा कार्यरत नेपाली समर्थक र नेताहरुसमेत स्टेडियमा पुगेका थिए । रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, कलाकारहरु बर्षा सिवाकोटीलगायत त्यहाँ पुगेका हुन् । नेपाली क्रिकेट टोलीलाई हौसला दिनकै लागि पाकिस्तान पुगेका विभिन्न देशमा छरिएर रहेका एक हजारभन्दा बढि नेपालीले अनुमानित ३० करोड रुपैयाँ खर्च गरेका छन् ।
खेलाडीको हौसलाका लागि भन्दै श्रीलंका पुगेर फर्किएका रास्वपा सभापति रवि लामिछानेले विश्वका दिग्गज खेलाडीले नेपालको प्रशंसा गर्दाको प्रत्यक्षदर्शी आफू बन्ने मौका पाएकोमा गर्व गरे । लामिछानेले खेलाडीहरूको मनोबल बढाउनको लागि नीतिगत रूपमा आफ्नो ठाउँबाट सक्ने सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए ।
पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रन तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि नेपालले यो स्तरको प्रतिस्पर्धामा आफूलाई उभ्याउनु आफैंमा ऐतिहासिक पक्ष हो । नेपाली क्रिकेट इतिहासमा सुनौलो अध्याय लेख्न सफल नेपालले भारत र पाकिस्तान जस्ता क्रिकेटको विश्व पावर हाउस राष्ट्रसँग प्रतिष्पर्धा गर्न अझै धेरै मिहेनत गर्नुपर्ने देखिन्छ । त्यसका लाथिग सरकारले पनि आवश्यक पूर्वाधार जुटाईहाल्न ढिला गर्नुहुन्न ।
प्रतिक्रिया