काठमाडौँ — जी–२० देशहरूको शिखर सम्मेलन आगामी सेप्टेम्बर ९ र १० तारिखमा भारतको राजधानी नयाँ दिल्लिमा हुँदै छ । भारतले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सम्मेलनको तयारी अघि बढ्दै गर्ला चिनियाँ राष्ट्रपति सी जिनपिङ भने शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् । सीसंगै अमेरिकी राष्ट्रपति जो बाईडेनकोसमेत भ्रमण अन्योलमा परेको छ ।
आगामी सेप्टेम्बर ९ र १० तारिखमा भारतको राजधानी नयाँ दिल्लिमा जी–२० देशहरूको शिखर सम्मेलन हुँदै छ । यो पटकको सम्मेलनमा विकास, जलवायु वित्त, पर्यावरण तथा जलवायु परिवर्तनसम्बन्धी युरोपेली संघको कार्यक्रम, छिटो र समावेशी विकास, स्थायी विकासका लक्ष्यहरूमा प्रगति, प्राविधिक परिवर्तन, बहुपक्षीय संस्था तथा महिलाको नेतृत्वमा विकासलगायत विषयमा छलफल हुनेछ । जी–२० सम्मेलनका लागि भारतले ३ महिनादेखि नै विशेष सुरक्षाकर्मी खटायो छ । जी–२० शिखर सम्मेलनलाई लक्षित गर्दै बाँदरसमेत नियन्त्रण गर्न थालिएको छ ।
त्यहाँका केही सडकमा लंगुर बाँदरको बिगबिगी भएकाले त्यसले सम्मेलनलाई नबिथोलोस् तथा असर नपुगोस् भन्दै बाँदर नियन्त्रण गर्न लागिएको भारतीय सञ्चार माध्यमले जनाएका छन । बाँदर बढी देखिने सडकमा कटआउट्स लगाइएका छन् । बाँदरलाई डराउनको लागि भनेर प्रशासनले ३०÷४० जनालाई लंगुरको आवाज निकाल्ने तालिम दिएको छ । बाँदरले खानको लागि सडकमा भौतारिनु नपरोस् भनेर निश्चित ठाउँ तोकेर खानेकुराको व्यवस्था समेत गरिने बताइएको छ । सम्मेलनका लागि प्रगति मैदानमा भारत–मण्डप बनाइएको छ ।
गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसको उद्घाटन गरेका थिए । जी–२० को सम्मेलनलाई लक्षित गरेर २ हजार ७ सय करोडको लागतमा उक्त मण्डप अर्थात् विभिन्न अत्याधुनिक सुविधाहरू सहितको सभाहलको निर्माण भएको थियो । यता यसरी सम्मेलनका लागि आयोजकले जोडतोडले तयारी गरिरहँदा चिनियाँ राष्ट्रपति सी चिनफिङ सो सम्मेलनमा सहभागी नहुने भएका छन् । यो खबरले जी २० समूह र आयोजक भारत दुवैलाई झट्का लागेको छ । आफ्नो सट्टा सीले शिखर सम्मेलनमा प्रधानमन्त्री ली चियाङलाई पठाउने भएका छन् ।
सीको अनुपस्थितिमा भारतलाई ठूलो झट्का हुनेछ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङ भारत नआउने थाहा पाएपछि उनी पनि निराश भएका छन । यता अमेरिकी राष्ट्रपति जो बाइडेनको भारत यात्रा पनि अन्योल देखिएको छ । बाइडेन जी–२० राष्ट्रको शिखर सम्मेलनमा भाग लिन भारत प्रस्थान गर्नुभन्दा दुई दिनअघि मात्रै पत्नी जिल बाइडेनलाई कोरोना संक्रमण भएको छ । भारतले अध्यक्षता गरिरहेको यो सम्मेलनमा अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिकालगायत देशका प्रमुख आउने सम्भावना छ ।
अन्तर्राष्ट्रियस्तरमा आर्थिक सहकार्य र सहयोगका लागि भन्दै सन् १९९९ देखि जी २० शिखर सम्मेलन हुँदै आएको छ । जी २० अन्तर्गत अमेरिका, ब्राजिल, क्यानडा, अर्जेन्टिना, इटली, जापान, मेक्सिको, रुस, अष्ट्रेलिया, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेसिया, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र युरोपेली संघ पर्दछन् ।


प्रतिक्रिया