Breaking

लिखुपिकेमा बेरूजुको चाङ : वडाध्यक्षसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

दानमा पाएको जग्गा किनेको भन्दै ६ लाख भुक्तानी


काठमाडौँ – सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र वडा नम्बर-२ का पूर्वअध्यक्ष रमेशकुमार बस्नेतसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

दान गरेको जग्गा किनेको भनी ६ लाख रुपैयाँ भुक्तानी दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीसँगै वडा नं -२ का पूर्ववअध्यक्ष बस्नेत र तत्कालिन लेखापाल जीवन सुवेदीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
लिखुपिके-२ को भवन बनाउनका लागि निःशुल्क पाएको जग्गा किनेको भन्दै ६ लाख रुपैयाँ भुक्तानी दिएको पाइएपछि उनीहरूविरूद्ध मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

वडा नं २ को भवन निर्माणका लागि दानपत्रमार्फत निःशुल्क जग्गा प्राप्त गरेपछि त्यस जग्गालाई किनेको भनेर ६ लाख रूपैयाँ भुक्तानी दिलाउन उनीहरूको भूमिका देखिएको दाहालले बताउनु भयो ।

लिखुपिके गाउँपालिकाले गर्ने खर्चमा वार्षिक रूपमा बेरूजुको सीमा बढ्दै गएको छ । महालेखा परीक्षकको ५९औँ प्रतिवेदनअनुसार लिखुपिके गाउँपालिकामा मात्रै झण्डै तीन करोड बेरूजु रहेको पाइएको छ ।

बेरूजुलाई कम गर्न पालिकाले ध्यान नदिँदा र कार्यविधि भन्दा बाहिर गएर मनपरी खर्च गर्दा लिखुपिकेमा २ करोड ६९ लाख बेरूजु निस्किएको थियो । स्थानीय तहहरूले खर्च प्रणाली पारदर्शी नगर्ने, विधिप्रक्रिया भन्दा बाहिर गएर ठेक्का लगाउने तथा लक्षित योजनामा मनोमानी तरिकाले बजेट खर्च गर्ने जस्ता कार्यले गाउँपालिकामा बर्सेनि बेरूजु रकम बढ्दै गएको छ ।

सामाजिक सुरक्षा भत्ता, वृद्धभत्ता नाममै नभएको व्यक्तिको नामबाट लिएको र बसाईसराई गरी काठमाडौँ आएको व्यक्तिको नाममा समेत भत्ता निकालेर खाइदिएको भन्दै लिखुपिके गाउँपालिका-१ का निवर्तमान वडा अध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाविरूद्ध पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अख्तियारले उजुरी सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ । शेर्पा हाल गाउँपालिका उपाध्यक्षमा छन् ।

तत्कालीन वडाध्यक्ष शेर्पाले विकासको कार्यमा भ्रष्टाचार र मनोमानी गरेको भन्दै चर्को विरोध हुँदै आएको छ । शेर्पाले वडा कार्यालय, स्वास्थ्यचौकी र हिमालयन ट्रस्टद्धारा निर्माण गरिएको भवनमा मनोमानी गरेपछि उनको आलोचना भएको हो ।