देश

संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने


काठमाडौँ — नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठक संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो। कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषाङ्क प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका कार्यक्रम हुनेछन् ।

असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक सङ्घसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम हुनेछन् । असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासका साथै उपत्यका बाहिर पनि विविध कार्यक्रम हुनेछन् ।