विदेश

सूर्यको अनुसन्धान गर्न भारतको पहिलो मिसन सुरु, एल–१ यान प्रक्षेपण, सफल होला ?


काठमाडौँ — चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक पठाएको भारतलले सूर्यकोसमेत अनुसन्धान गर्ने भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सूर्यको अनुसन्धान गर्न सूर्यतर्फ आज अर्को यान पठाएको हो । चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक यान अवतरण गराउने पहिलो राष्ट्र बन्न सफल भएको भारतले त्यस्को एक सातापछि नै सूर्यको अनुसन्धान गर्ने अन्तरिक्ष अभियान आदित्य एल–१ मिशन प्रक्षेपण गरेको छ । यो अन्तरिक्षयानलाई पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा रहेको सूर्य–पृथ्वी प्रणालीका लनिङग बिन्दु एल १ वरिपरि हलो कक्षमा पठाइएको हो ।

यो यानले फोटोस्फियर, क्रोमोस्फियर र सूर्यको बाहिरी भागको अध्ययन गर्ने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले जनाएको छ । यो अन्तरिक्ष यानले पृथ्वीको सबैभन्दा नजिकको तारा पनि भनिने सूर्यको अनुगमन र अनुसन्धान गर्ने, सौर्य आँधी जस्ता अन्तरिक्ष मौसमी गतिविधिहरूको अध्ययन गर्ने लक्ष राखेको छ । यानले जम्मा सात वटा भारीहरू पे लोड’ बोक्नेछ त्यसले फोटोस्फेअर र क्रोमोस्फेअर भनिने सूर्यका सबैभन्दा बाहिरी भागको अनुगमन गर्नेछ ।

त्यसका लागि इलेक्ट्रोम्याग्नेटिक र पार्टिकल फिल्ड डिडेक्टर जस्ता उपकरणको प्रयोग गरिनेछ । यसले अन्तरिक्षको मौसम के ले सञ्चालन गर्छ, सौर्य आँधीको प्रकृया, पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा देखिने नोर्दन र सदर्न लाइट्स भनिने रङ्वििरङ्गी उज्यालो प्रकाशका दृश्यका साथै इलेक्ट्रोम्याग्नेटिक अवरोधका विषयमा अध्ययन गर्नेछ । यसबाट सौर्य गतिविधिलाई अवलोकन गर्न पहिलेभन्दा ठूलो उपलब्धि हासिल हुने मात्रै नभई वास्तविक समयमा नै त्यस्ता गतिविधिको अन्तरिक्ष मौसममा पर्ने प्रभावलाई पनि अनुगमन गर्ने इसरोले जनाएको छ ।

यसले पृथ्वीबाट अध्ययन गर्न नसकिने रेडिएशन अर्थात् विकिरणको अध्ययन गर्नेलगायत सौर्य गतिविधिका प्रभावहरूबारे महत्वपूर्ण जानकारीहरू प्राप्त गर्ने योजना राखेको छ । यो यान पृथ्वीबाट ९३ माइलको दूरीसम्म पुग्ने भारतीय खगोलशास्त्रीहरुको अनुमान छ । पृथ्वी र चन्द्रमा बीचको दूरीभन्दा करिब चार गुणाले बढी दूरी रहेको छ । तर त्यो पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ १ प्रतिशत मात्रै हो ।

आदित्य एल –१ लाई करीब चार महिना लाग्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारतले सूर्यमा आफ्नो पहिलो मिसन आदित्य एल–१ नामक यान प्रक्षेपण गरेको हो । त्यसोत सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्ष अभियान भने होइन । अहिलेसम्म अमेरिकी अन्तरिक्ष एजेन्सी नासा, युरोपेली अन्तरिक्ष एजेन्सी र जर्मन एरोस्पेस सेन्टरले सूर्यको अध्ययनका लागि छुट्टाछुट्टै र संयुक्त अन्तरिक्ष अभियान पठाएका छन् ।