Breaking

निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा छिटो पारित गराउन दबाब सृजना गरौंः आयुक्त थपलिया

योहो संवाददाता

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा छिटो पारित गर्न दबाब सृजना गर्नुपर्ने बताउनुभएको छ । आम नागरिकको आवाज निर्वाचनमार्फत मुखरित हुनेगरी आयोगले सो विधेयकको मस्यौदा तयार पारी सरकार समक्ष पेस गरेकाले त्यसलाई सदनबाट पारित गराउन आयोगले सम्बन्धित पक्षको दबाबको अपेक्षा गरिएको बताउनुभएको हो ।

सोमवार निर्वाचन आयोगले काठमाडौंमा गरेको छलफलमा उहाँले सो विधेयकको मस्यौदामाथि आम बहसको विषय बनाउनका लागि हस्तक्षेपकारी भुमिका निर्वाह गर्न सञ्चारकर्मीसहित सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । आयोगको ध्येय सो कानून निर्माण गरी २०८४ सालको निर्वाचनलाई कसरी राम्रो निर्वाचन गर्न सकिन्छ ? भन्नेतर्फ केन्द्रित रहेकाले त्यसमा आयोगलाई सञ्चारकर्मीहरुले पनि सहयोग गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई थियो । उहाँले निर्वाचन व्यवस्थापनसम्बन्धि सो कानूनको मस्यौदा सरकारले छिट्टै संसदमा पेस गर्ने विश्वास व्यक्त गर्दै सो मस्यौदा जस्ताको तस्तै पारित भए नेपालको निर्वाचन सुधारको क्षेत्रमा अग्रगामी कदम हुने जिकिर समेत गर्नुभयो ।