विदेश

‘चुम्बन’ काण्डले फुटबल महासंघका अध्यक्षलाई तनाव, पद धरापमा, कारबाहीको तयारी

योहो संवाददाता

काठमाडौँ — स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियालेसले फिफा महिला विश्वकपपछिको समारोहमा स्पेनकी फुटबल खेलाडी जेनी हर्मोसोलाई चुम्बन गरेको भन्दै अहिले तीव्र आलोचना भईरहेको छ । अध्यक्ष रुबियालेसलाई पदबाट हटाउन स्पेनले कानुनी प्रक्रियासमेत सुरु गरेको छ ।

जुलाई २० देखि अस्ट्रेलिया र न्यूजील्यान्डमा भएको महिला विश्वकप फुटबल २०२३ को उपाधि स्पेनले जित्यो । अष्ट्रेलियाको सिड्नीमा भएकोे फाइनल खेलमा इंग्ल्यान्डलाई १–० गोलले हराउँदै स्पेनले पहिलोपटक विश्वकपको उपाधि उचाल्यो । स्पेनले उपाधि उचाल्दै गर्दा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेस भने तिब्र आलोचनाको पात्र बन्नुपरेको छ । विश्वकप विजेता स्टार खेलाडी जेमी हेरमोसोलाई चुम्बन गरेको एउटा भिडियोका कारण उनी समस्यामा परेका हुन् ।

पदक थाप्न जानेक्रममा रहेकी हेरमोसोलाई फुटबल संघका ४५ वर्षीय अध्यक्ष रुबिलेसले चुम्बन गरेका थिए । लगत्तै उक्त घटनाको विरोधमा अन्तर्राष्ट्रियस्तरबाटै प्रतिक्रिया आउन सुरु भएको थियो । लुइस रुबियाको चुम्बनले त्यहाँका खेलकुदमन्त्रीले समेत चर्को आलोचना गरेका छन् । कार्यवाहक मन्त्री म्याकवेल इसेटाले स्पेनी पब्लिक रेडियोमा भनेका छन्, कोही खेलाडीलाई बधाई दिन ओठमै चुम्बन गर्नु अस्वीकार्य छ । मन्त्री इसेटाले फुटबल संघका अध्यक्षले माफी माग्नुपर्ने पनि बताए ।

उपाधि जित्दाको स्थिति भावनात्मक रूपमा निकै नजिक भएपनि त्यस्तो अवस्थामा फुटबल संघ अध्यक्ष रुबिलेस निकै होसियार भएर प्रस्तुत हुनुपर्ने भन्दै खेलकुदमन्त्रीले असन्तुष्टि जनाएका हुन् । लुइसले जेनीलाई जबर्जस्ती चुम्बन गरेको र त्यो यौन हिंसा भएको भन्दै स्पेनभित्रै आलोचना भइरहेको छ । जेनीले आफूलाई लुइसले गरेको क्रियाकलाप मन नपरेको पनि बताएकी छिन् । यसबीचमा लुइसले भने गल्ती भएको भन्दै माफी मागेका छन् ।

उनले स्पष्टीकरण दिँदै भनेका छन् मैले खुसी व्यक्त गर्न चुम्बन गरेँ । तर यस कार्यले धेरैको चित्त दुखाएको छ जसकारण यो मेरो गल्ती हो र मैले यो गल्तीबाट पाठ सिक्नेछु । चुम्बनकै कारण स्पेनका ८० जनाभन्दा बढी महिला खेलाडीहरुले रुबियालेसलाई पदबाट नहटाएसम्म मैदान नजाने बताएका छन् । त्यसयता उनको राजीनामाको माग भइरहेको छ । तर उनले यसलाई बेवास्ता गरिरहेका छन् । शुक्रबार रुबियालेसले राजीनामा दिन अस्वीकार गर्दै उत्तेजक भाषणमा किस इच्छाबमोजिम गरिएको दाबी गरेका थिए ।

स्पेन सरकारले रुबियालेसलाई पदबाट हटाउन कानुनी प्रक्रिया सुरु गरेको छ । स्पेनमा फुटबलका धेरै महत्वपूर्ण प्रायोजकहरूले पनि उनलाई कारबाहीको माग गरिरहेका छन । जुन घटनाले स्पेनमा महिला अधिकारसम्बन्धी लामो समयदेखि जारी विवादलाई बढाएको छ । यता महिला फुटबल खेलाडी जेनी हर्मोसोले पनि लुइस रुबियालेसले आफूलाई चुम्बन गर्दा आफ्नो सहमति नभएको बताएकी छन् । रुबियालेस सन् २०१८ देखि स्पेनिस फुटबल महासंघका अध्यक्ष छन् । यसरी चारैतिरबाट राजिनामाको आवाज घन्किरहँदा फुटबल महासंघ अध्यक्ष लुइसको उक्त चुम्बन जिवनकै महंगो चुम्बन सावित भएको छ ।