Breaking

कोशीमा उद्धवविरुद्ध हिक्मत फेरि अदालत जाने, उपसभामुख बिरामी, गठबन्धनले रोजे चोर बाटो


काठमाडौँ — कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत विवादमा तानिएको छ । प्रदेशसभाको अध्यक्षता गरेका व्यक्तिकै मतबाट मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा भएपछि प्रदेशसभा वैठकमै प्रतिपक्षी सांसदहरुले होहल्ला र विरोध गरेका थिए । संविधानको हुर्मत लिएर विश्वासको मत लिने काम भएको प्रतिपक्षी एमालेको आरोप छ भने यो विषय कानुनी लडाईंमा जाने भएको छ ।

यो दृश्य कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदाको हो । प्रदेशसभाको अध्यक्षता गरेका कांग्रेस सांसद ईस्राईल मन्सुरीसमेतको मतबाटमुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि नेकपा एमाले र राप्रपाका सांसदहरुले नाराबाजी र होहल्ला गरे । एमालेबाट उपसभामुख बनेकी सिर्जना दनुवारले मुख्यमन्त्री थापालाई विश्वासको मत पुग्न नदिने नीति अनुरुप बैठक छलेपछिसभाको अध्यक्षता गरेकै व्यक्तिको मतसहित गनेर मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरिएको हो ।

कोशी प्रदेश सभामा ९३ जना सांसद रहेकोमा सोमबारको बैठकमा ७७ जनामात्र सांसद उपस्थित थिए । उपस्थित सांसदमध्ये मुख्यमन्त्री थापाको पक्षमा ४७ मत खस्यो भने विपक्षमा ३० मत प्राप्त भएको घोषणा गरियो । कोशी प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य मन्सुरीले अर्का सांसद गीता तिमलिल्सनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि लफडा भएको थियो ।मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी मन्सुरीले विश्वासको मत दिएका हुन् । मत फिर्ता लिने समय चलिरहेका बेला उनले तिम्सिनालाई अध्यक्षता ग्रहण गर्न बोलाएका थिए ।

पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्कीले नेतृत्वको सरकार २०७९ असार १५ गते ढलेको थियो । त्यसपछि असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई सर्वोच्च अदालतको आदेशले साउन ११ गते पदमुक्त गरेको थियो ।पुनः साउन १७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले विश्वासको मत लिने समय भदौ १३ गतेसम्म कायम रहन्छ । तर, उनले आजै विश्वासको मत लिएका हुन् । विवादका बीच थापाले विश्वासको मत पाएसँगै कोशीको राजनीति पेचिलो बन्ने निश्चित छ ।

विपक्षी दल एमालेले विश्वासको मत लिने क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै त्यसलाई अस्वीकार गर्ने बताएको छ । सभाध्यक्षकै मतमा विश्वासको मत पाएको घोषणा गर्ने सुईको पाएका एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कानुनको हुर्मत नलिन पूर्व चेतावनी नै दिएका थिए ।

मुख्यमन्त्री थापाले घुमाउरो बाटोबाट विश्वासको मत लिएसँगै प्रतिपक्षी थप आक्रोशित बनेको छ । कोशीमा नेकपा एमालेसहितका प्रतिपक्षी कित्तामा रहेकाहरु फेरि एकपटक कानुनी ढोका ढक्ढक्याउन जाने तयारीमा छन् । कोशी प्रदेशमा देखिएको सत्ता लुछाचुणीले प्रदेश संरचनामाथि नै प्रश्न उठिरहेको छ ।

यसले सत्ता राजनीतिको उदांगो नाटक मञ्चन गरिरहेको देखिन्छ । जसरी हुन्छ सत्ता नै सबैथोक हो भन्ने मनस्थिति झाँगिदा राजनीति फोहोरि खेल हो भन्ने भास्य खडा गर्न कोशी प्रदेशसभामा सोमबार देखिएको दृश्यले मलजल गरेको छ । मुख्यमन्त्री थापालाई विश्वासको मत दिनबाट बञ्चित गराउन आफ्ना जेष्ठ सदस्यहरुलाई घर बिदामा राख्ने एमाले र राप्रपा एवम्सभाध्यक्षलाई गलत रुपमा प्रयोग गर्ने सत्ता गठबन्धन उत्तिकै जिम्मेवार छन् ।