देश

ओल्के पर्वको अवसरमा सुदूरपश्चिममा सार्वजनिक बिदा


काठमाडौँ — सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको जनाएको छ । सुदूरपश्चिम प्रदेशमा भदौ १ गतेका दिन ओल्के पर्व मनाइँदै आएको छ ।

साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरपश्चिमका पही जिल्लामा ओल्के पर्व मनाउने चलन छ । ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो । यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रुपमा पनि रहिआएको छ ।