Breaking

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा


काठमाडौँ — कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले मंगलबार अपरान्ह राजीनामा दिएका छन् । काठमाडौंबाट विराटनगर फर्किएलगत्तै प्रदेश सभा सचिवालयमा पुगेर उनले राजीनामा दिएका हुन् । गौतमले आफ्नो राजीनामा पत्र प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारलाई बुझाइसकेका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई बहुमत जुटाउन राजीनामा दिनुपर्ने शीर्ष नेताको दबाबपछि गौतमले विराटनगर पुगेर राजीनामा दिएका हुन् ।

काठमाडौंमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणडसहितका शीर्ष नेतासँग छलफल गरेका थिए । ती छलफलमा गठबन्धनको सरकारका लागि उनलाई पद त्याग्ने सुझाव आएको थियो । छलफलका क्रममा उनले राजीनामा नदिने अडान राखेका थिए। गौतमले आफूलाई मुख्यमन्त्री बनाउने अवस्थामा मात्रै राजीनामा दिने अडान नेताहरुसँग राखेका थिए । तर उनलाई सभामुखबाट हटेपछि नयाँ क्याबिनेटमा मन्त्री बनाउने आश्वासन आएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले दिएको सरकार बनाउने ५ दिनको समय मंगलबार साँझ ५ बजे सकिनुअघि नै गठबन्धनको पक्षमा बहुमत (४७) पुर्‍याउने गरी उनले राजीनामा दिएका हुन् । विराटनगर विमानस्थलबाट सिधै प्रदेश सभा सचिवालयमा पुगेर राजीनामा पत्रमा हस्ताक्षर गरेका हुन् । सभामुखबाट राजीनामा दिएपछि गौतमलाई मन्त्री बनाउने आश्वासन मिलिसकेको छ । ओखलढुंगा प्रदेशसभा २ बाट प्रदेशसभामा निर्वाचित गौतमकै हस्ताक्षरमा बहुमत दाबी गर्दै गत असार २१ गते कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेका थिए ।

तर गौतमको हस्ताक्षरलाई अवैधानिक ठहर गर्दै सर्वोच्चले थापाको नियुक्ति २२ दिनमै रद्द गरिदिएको थियो। अब उनै थापाले एक महिनाबीचमै दोस्रो पटक मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् । मंगलबार नै कांग्रेस संसदीय दलका नेता थापाले सभामुख गौतमले राजीनामा दिएपछि गठबन्धनकै बहुमतको सरकार बन्ने बताएका थिए । गत असार २१ गते मुख्यमन्त्री भएर २२ दिनमै नियुक्ति रद्द भएका थापाले अब पनि कांग्रेसले मंगलबारै सरकारमा दाबी पेस गर्ने बताएका थिए । अब माओवादी केन्द्रसहितको समर्थनमा बहुमत सांसद ४७ जना पुर्‍याएर मंगलबारै सरकारको दाबी पेस गर्दैछन् ।