मनोरञ्जन

छिरिङ शेर्पा ‘कार्साङ’ चलचित्रमा अनुबन्धित, दयाहाङसँग अभिनय गर्ने


काठमाडौँ – शेर्पा चलचित्र टिन्छेन फामाकी नायिक तथा रियालिटी शो ‘डान्सिङ स्टार नेपाल’ सिजन-२ की विजेता छिरिङ शेर्पाले नेपाली चलचित्रमा डेब्यु गर्ने भएकी छन् ।

शेर्पा समुदायको फिल्म र दर्जनौं म्यूजिक आफ्नो कला प्रस्तुत गरेकी छिरिङले ‘कार्साङ’ चलचित्रमा नायक दयाहाङ राईसँग अभिनय गर्ने पक्का भएको हो ।

शेर्पाले ५६ सय मिटरको उचाइमा अवस्थित कालापत्थरमा कोरियोग्राफी र नृत्य गरेर विश्वकै सर्वाधिक उचाइमा कोरियोग्राफी तथा नृत्यमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नामसमेत राखेकी छिन् । यार्सा फिल्म्सको व्यानरमा निर्माण हुन लागेको ‘कार्साङ’ चलचित्रमा शेर्पाले डेब्यु गर्न लागेकी हुन् ।

यो फिल्ममा मुख्य अभिनेताका रूपमा दयाहाङ र बुद्धि तामाङ हुनेछन् भने अभिनेतृको रुपमा छिरिङ रहने छिन् । फिल्मको छायांकन सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ । फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गर्नेछन् ।

शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक यम शेर्पाले बताउनु भयो । फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने उहाँले जानकारी दिनुभयो । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । यसअघि उहाँले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसक्नुभएको छ ।