Breaking

कोशी प्रदेशमा ढल्यो एमाले सरकार


काठमाडौँ — कोशी प्रदेशमा पनि नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मत कार्कीले बिहीबार प्रदेशसभामा राखेको विश्वासको मत माग्ने प्रस्तावमा शुक्रबार भएको मत विभाजनमा उनी अल्पमतमा परेसँगै सरकार ढलेको हो । मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत पर्यो । जम्मा उपस्थित सांसद संख्या ८९ रहेका थिए ।

पक्षमा एमालेका ४० र राप्रपाका ६ सांसदले मतदान गरे । कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गर्दा एक सिट रहेको जनता समाजवादी पार्टी (जसपा) ले मतदानमा भाग लिएन । प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका (सभामुखबाहेक) १२ र एकीकृत समाजवादीका ४ जना सांसद छन् । मंसिर ४ को निर्वाचनपछि एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि प्रदेशहरूमा सोहीबमोजिम सरकार गठन भएका थिए ।

तर, राष्ट्रपति उपराष्ट्रपति निर्वाचनको संघारमा केन्द्रमा समीकरण बदलिएपछि त्यसको असर प्रदेशहरूमा पनि पर्यो । एमालेले नेतृत्व गरेका गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका सरकार त्यतिबेलै ढले । तर, विशिष्ट अंकगणित भएका कारण कोशी प्रदेश सरकार भने अहिलेसम्म कायम थियो ।

कोशीमा अब एमाले र राप्रपा प्रतिपक्षमा बसेको अवस्थामा अरू सबै मिल्दा पनि सरकार गठन हुन कठिन छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार टिकाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद हुन्छन् । माओवादी केन्द्रका बाबुराम गौतम सभामुख भएका कारण हाल प्रतिपक्षमा रहेका सबै मिल्दा पनि ४६ सांसद मात्रै पुग्ने हुँदा अब बन्ने नयाँ सरकारले पनि विश्वासको मत पाउन कठिन देखिन्छ ।