देश

सोलुदुधकुण्डको पिके क्षेत्र जाने बाटोमा भत्किएका पुराना माने पुनः निर्माण


काठमाडौँ — सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १० भित्र पर्ने पर्यटकीय पिके क्षेत्रमा जाने बाटोमा प्रचिनकालमा निर्माण भएका साम्सिङ भञ्ज्याङमा माने पर्खालहरुको मर्मत एवम् पुनः निर्माण भएको छ । ५३८ लम्बाई र ४ फिट चौडाइ तथा ४ फिट ८ इन्च उचाइको सबैभन्दा लामो ऐतिहासिक धर्मिक सम्पदाका रूपमा रहेको माने पुनः निर्माण भएको हो । पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा काठमाडौंको विशेष अगुवाईमा पिके पिक टाप्टिङ क्षेत्रभित्र रहेका १८ वटा पुराना भत्किएका माने पर्खालमध्ये पहिलो चरणमा दुईवटा माने पुनः निर्माण सम्पन्न भईसकेको छ ।

दोस्रो चरणमा साम्सिङ भञ्ज्याङको सबैभन्दा लामो माने निर्माण गरिएको र पिके बेस क्याम्प जाने उकालोको दुईवटा मानेहरु एउटा लामो र चारपाटे माने नयाँ चौतार पनि पुनः निर्माण तथा मर्मत सम्भार सम्पन्न गरिएसंगै सम्सिङ भञ्ज्याङको माने प्राण प्रतिष्ठान राप्ने किल्खोरदिङ गुम्बाका प्रमुख लामा तेन्जिङ रङ्डोल रिन्पोछे बहुदलीयबाट पुजा पाठ सम्पन्न गरिएको हो । प्रतिकुल मौसम, भौगोलिक विकटता र विभिन्न कठिनाइका बवाजुत पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाले पाँच वटा पुराना भत्किएको माने पुनः निर्माण तथा मर्मत सम्भार गर्न पाउँदा हर्षित भएको अध्यक्ष ङवाङ फुरी शेर्पाको भनाई छ ।

बौद्ध धर्मावलम्बीहरुको आस्थाको प्रतिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको १७ वटा माने पर्खालहरुको अवस्था जीर्ण अवस्थामा रहेकाले पिके टाप्टिङ समाज सेवा संस्थाको अगुवाइमा मर्मत गरिएको हो । पू्र्खाहरुले पुण्य आर्जन गर्ने बौद्ध दर्शनको प्रवर्धनका लागि निर्माण गरिएका मानेहरुको संरक्षण नहुँदा भत्किने माटोले पुरिएर लोप हुदै गएको अवस्थालाई ध्यानमा राख्दै पूर्खाको सम्मान र इतिहास रक्षाका लागि माने पुनः निर्माण गरिएको हो ।

माने निर्माण कार्यमा देश तथा बिदेशबाट आर्थिक सहयोग गर्ने सबैलाई संस्थाले धन्यवादसमेत दिएको छ । आगामी दिनहरूमा बाँकी माने पुनः निर्माण कार्यमा पनि यस्तै साथ र सहयोग को अपेक्षा गरिएको संस्थाका महासचिव अम्बर तामाङले बताए ।
स्थानियहरुको प्रत्यक्ष सहभागिता तथा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङसँग समन्वय गरि जीर्णोद्धार मानेको आवश्यक मर्मत, सम्भार र संरक्षण कार्य गरिएको पिके टाप्टिङ समाज सेवाले जनाएको छ । पिके सम्सिङ भञ्ज्याङको माने पुनः निर्माण गर्नका लागि २० लाख रुपैयाँ खर्च भइसकेको संस्थाले जनाएको छ ।