देश

प्रिमियरमा मन जित्यो नेपाली चलचित्र ‘वेलकम टु हेम्जाकोट’ले


काठमाडौँ — सरोज पौडेल निर्देशित नेपाली चलचित्र वेलकम टु हेम्जाकोटको प्रिमियर शो भएको छ । मंगलबार काठमाडौँमा चलचित्रको प्रिमियर शो गरिएको हो । जेठ २६ देखि प्रदर्शनको तयारीमा रहेको सोसल(कमेडी फिल्म ‘वेलकम टु हेम्जाकोट’मा बुद्धि तामाङ र विनोद न्यौपानेको शीर्ष भुमिका रहेको छ भने फिल्मले बेरोजगारीले निम्त्याउने समस्या र अन्तरजातीय प्रेमको कथावस्तु पेस गर्छ । फिल्मले युवालाई आदर्शवान बन्न सिकाएको छ । फिल्ममा लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदेव राई, प्रेविल कँडेल, स्व।जयनन्द लामाको समेत अभिनय छ ।

शोमा आयोजित औपचारिक कार्यक्रममा बोल्दै यसका निर्देशक सरोज पौडेलले यो चलचित्र नितान्त मनोरञ्जनका लागि बनाइएकाले त्यसैअनुसार दर्शकबाट साथको अपेक्षा गरे । उनले भने, “हामीले यो एउटा प्रयास गरेका छौँ । अर्को कुरा म पनि यसै चलचित्रबाट निर्देशन यात्रा थालेको छु । आशा छ दर्शकले मेरो यो उद्योगमा आगमनलाई सहर्ष स्विकार्नुहुनेछ ।” अभिनेता बुद्धी तामाङले अरु चलचित्रमा भन्दा यसपटक केहि फरक प्रयास गरेको र दर्शकले चलचित्र हेर्दासम्म दिक्क नमान्ने बताए ।

अभिनेता विनोद न्यौपानेले आफ्नो करिअरमा यो चलचित्रले छुट्टै अर्थ राख्ने उल्लेख गर्दै दर्शकबाट साथ र माया पाउने अपेक्षा राखे । त्यस्तै अमिनेता शोभित बस्नेतले चलचित्र हास्य विधाको चलचित्र भएकाले राम्रो लागेको र हास्न धेरै पाइने खालको फिल्म बनेको बताए। उनले फिल्म हेरुन्जेलसम्म फिल्मको मज्ज लिएर चलचित्र हेर्न सकिने बताए । त्यस्तै चलचित्र वेलकम टु हेम्जाकोटका अभिनेता विनोद न्यौपानेले नयाँ टिमले गरेको प्रयासबाट कलाकारहरू खुसी भएको र आगामी शुक्रबारबाट दर्शकले प्रतिक्रिया दिएपछि फिल्म राम्रो र नराम्रो भन्नेबारेमा विश्वस्त हुने बताए । उनले फिल्म हेरुन्जेल हासो नरोकिने बताए ।

क्लोजअप सिने प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो फिल्म तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्काले निर्माण गरेका हुन् । मिलन श्रेष्ठको एक्शन, मित्र डी गुरुङको सम्पादन रहेको फिल्मलाई दीर्घ गुरुङले खिचेका हुन् । कविराज गहतराज र गम्भीर विष्टको संयुक्त नृत्य निर्देशन, शाश्वत श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मको गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठले स्वर दिएका छन्। राज सागरले संगीत भरेका छन्।