देश

भालुको आक्रमणबाट संखुवासभामा एकजना गम्भीर घाइते


काठमाडौँ — संखुवासभाको मकालु गाउँपालिका–३ मा भालुको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन् । भालुको आक्रमणमा परेर मकालु–३ थाक्रामका ३८ वर्षीय किरण राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक भुवनबावु खड्काले जानकारी दिए ।

बिहीवार दिउँसो पानी ट्याङ्की निर्माण गरेर फर्किदै गरेका राईलाई भालुले आक्रमण गरेर घाइते बनाएको प्रहरी निरीक्षक खड्काले बताए । भालुको आक्रमणबाट घाइते भएका राईलाई थप उपचारका लागि शुक्रबार जिल्ला अस्पताल ल्याइएको छ ।

स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि जिल्ला जिल्ला अस्पताल ल्याइएको हो । भालुको आक्रमणबाट उनको तिघ्रो र शरीरका विभिन्न भागमा चोट लागेको छ । निकुञ्ज क्षेत्रभित्र अहिलेसम्म एक दर्जन व्यक्ति भालुको आक्रमणबाट घाइते भएको निकुञ्ज कार्यालयले जनाएको छ ।