Breaking

सुदूरपश्चिम सरकारले आज पूर्णता पाउँछ : मुख्यमन्त्री शाह


काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले शुक्रबार ९आज० पूर्णता पाउने बताएका छन् । प्रदेश सरकारको १०० दिनका उपलब्धि सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले आज सरकारलाई पूर्णता दिइने बताएका हुन् ।

शाहले सत्तारुढ गठबन्धनमा आवद्ध सबै दललाई समेटेर सरकारलाई पूर्णता दिइने बताए । ‘प्रदेश सरकार विस्तारको विषयमा साथीहरुको जिज्ञासा छ । आज पूर्णता पाउँछ । सत्ता गठबन्धनमा आवद्ध सबै दललाई समेट्छौं,’ शाहले भने ।

रेशम चौधरीको आजीवन कारबासको सजायँ सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्ति पार्टी ९नाउपा०ले आन्दोलनका कार्यक्रम घोषणा गरेका कारण सरकारमा सहभागी हुँदैन कि भन्ने जिज्ञासामा शाहले आफू नाउपा सरकारमा सहभागी हुनेमा विश्वस्त रहेको पनि बताए । सत्ता गठबन्धनमा भागबण्डासमेत मिलिसकेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिएका छन् । मुख्यमन्त्री शाहले आफ्नो १०० दिनको कार्यकालमा सुशासन र विकासको नयाँ आशा र भरोसाको सञ्चार भएको समेत बताए ।

सरकार प्रणाली सुधार गर्नमा केन्द्रित भएको र विकासको प्रत्याभूति दिलाउन क्रियाशील रहेको बताएका शाहले पहिलो चौमासिकमा १४ प्रतिशतमा न्यून रहेको बजेट खर्चको दर बढाएर ३३ प्रतिशत पुगाइएको उल्लेख गरे । भौतिक पूर्वाधार विकासतर्फ २२ किलोमिटर सडक कालोपत्रे, ७५ किलोमिटर ग्राभेल, ३ वटा पुल, एउटा झोलुंगे पुल निर्माण र ३६ वटा खानेपानी योजना सम्पन्न गरिएको उनले उपलब्धि प्रतिवेदनमा उल्लेख गरेका छन् ।