देश

ईपीएसलाई सरकारले सोध्यो स्पष्टीकरण


काठमाडौँ — सरकारले ईपीएसमार्फत कोरिया जाने श्रमिकको हवाई भाडा किन महँगो भएको भन्दै स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत ईपीएस कोरिया शाखालाई स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधेर कोरिया जाने हवाई टिकट किन अत्यधिक महँगो भएको भन्दै जवाफ माग गरेका हुन् । ईपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो ? प्रतिव्यक्ति नाफा कति आउँछ ? कति प्रतिशत बढाउन पाउने नियम छ ? लगायतका प्रश्न सोधिएको मन्त्री किराँतीले बताए ।

कोरियन एयरलाइन्सले अहिले सम्म एकलौटी कति यात्रु बोकेको छ ? समग्रमा अहिले सम्मको टिकटको बजेट कति हुन आउँछ ? त्यसको जवाफ समेत माग गरेका छन् । त्यस्तै कोरियन एयरलाइन्सले १ लाख ८५ हजार लिने टिकट मूल्य ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्छ कोरियन एयरलाइन्सले किन अत्याधिक भाडा लिएको त्यसको जवाफ समेत माग गरेका छन् । उक्त स्पष्टीकरणको लिखित जवाफ पेस गर्न भनेका हुन् ।