काठमाडौँ — २०७९ साललाई बिदाइ गर्दै आज नयाँ वर्ष २०८० लाई स्वागत गरिएको छ । सबैले आफ्नोे तौरतरिकाबाट नयाँ जोश, जाँगरका साथ नयाँ वर्ष मनाए । स्वदेशमा मात्रै होइन परदेशमा रहेका नेपालीहरुले समेत नेपाली नयाँ वर्षलाई खुसीसाथ स्वागत गरेका छन् । नेपाल मात्र एउटा यस्तो देश हो, जसले विक्रम संवत्लाई आधार मानेर नयाँ वर्ष मनाउने गर्छ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गरेसँगै नेपाली नयाँ वर्ष अर्थात् विक्रम संवत् २०८० साल सुरु भएको छ । बाह्र राशी मध्यको अन्तिम राशी मीनमा रहेको सूर्य, पहिलो मेष राशीमा आगमन गरेसँगै विक्रम संवत्को प्रारम्भ हुने गर्छ ।
नयाँ वर्षका दिन जे सुरु गर्याे त्यही कार्य वर्षभरि हुने जन विश्वास रहेकाले हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलताको मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । बिहानै मन्दिरमा गएर पूजा पाठ र वर्षभरी गर्ने आफ्नो कार्य सफलताको अपेक्षा गरिन्छ । त्यसैले आज पशुपतिनाथको मन्दिरसँगै देशैभरको मठमन्दिरमा दर्शनार्थीको ठूलो घुईचो लागेको छ ।
गत तीन वर्ष कोरोनाका कारणले खुलस्त रुपमा मनाउन नपाएको नयाँ वर्ष यस वर्ष भने भव्य रुपमा मनाएको काठमाडौँको हरेक स्थानमा भएको भीडभाडबाट देखिन्छ । सपीडङ मल, चलचित्र हल, बाल खेलौना स्थलमा देखिएको उल्लेख्य चापले पनि नयाँ वर्ष सुरु भएको सन्देश दिएको छ । लामो समयपछि यसरी नयाँ वर्ष मनाउन पाउँदा सर्वसाधारण पनि खुशी देखिन्छन् ।
समय अनृुसार नै नयाँ वर्ष मनाउने तौरतरिका पनि फेरिदैँ गएको छ । पहिलो पहिले मठमन्दिरमा गएर पूजाआरधना गरेर मनाउने गरे पनि अहिलो भने आफ्नै परिवारसँग महल पिकनिक वा कतै गएर मनाउने गरेको पाइएको छ । हरेक क्षेत्रमा झै नेपाली नयाँ वर्षमा पनि पश्चिमा संस्कृतिको प्रभाव पर्दै गएको आम नागरिको बुझाई छ ।
नयाँ वर्षको अवसरमा पूर्व राजादेखि हाल देशका उच्च ओहोदामा बसेका र शीर्षस्थ नेताहरुले नयाँ वर्षको शुुभकामना दिइरहदा नागरिक भने खुशी देखिदैनन् । नेपाली राजनीतिज्ञ देखि निराश बनेका जनता अब चै नेताले आफ्नो स्वार्थ त्यागी देश र जनताको हितमा काम गर्न सुझाव दिन्छन् ।
धार्मिक होस् वा प्राकृति सबै हिसाबले नयाँपनको महसुस गराउने यो समयले साच्चै नै केही नयाँ दिएको भान हुन्छ । सुख्खा र उजाड देखिने पाखा पखेरोमा नयाँ पालुवा पलाएसँगै देखिने मनोरम दृश्यले पनि नयाँपनको आभाष गर्छ । विगतका वर्षमा झै यस वर्ष पनि क्यालेण्डर मात्र नफेरियोस्, देश र आम नेपालीको दैनिक जीवन पनि सकारात्मक तवरले फेरियोस् हाम्रो पनि नयाँ वर्ष २०८० को हार्दिक शुभकामाना ।
प्रतिक्रिया