Breaking

गभर्नर महाप्रसाद अधिकारीले आकस्मिक पत्रकार सम्मेलन गर्दै


काठमाडौँ – तीव्र आर्थिक संकटकाबीच बढेको बैंक ब्याजदरका विरुद्ध उद्योग व्यवसायीसँगै आम सर्वसाधारण समेत सडक संघर्षमा उत्रिरहेका बेला केन्द्रीय बैंकले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले मंगलबार दिउँसो पत्रकार सम्मेलन नै गरेर केन्द्रीय बैंकको धारणा सार्वजनिक गर्ने भएका हुन् । दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन डाकिएको छ ।

समस्याग्रस्त आर्थिक स्थितिका बाबजुद केन्द्रीय बैंकले ब्याजदर घटाउने नीति लिन सक्ने अपेक्षा सबैको छ । यद्यपि, केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले आयोजना गर्ने पत्रकार सम्मेलनमा मुलुकको वास्तविक आर्थिक स्थितिको चित्रण हुने केन्द्रीय बैंक स्रोतले बताएको छ ।

गभर्नरको आजको विशेष भनिएको पत्रकार सम्मेलनमा ८ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक हुनेछ । ‘मुलुकको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा’ विषयक पत्रकार सम्मेलनमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको माइक्रो इकोनोमी, वित्तीय रिपोर्ट सार्वजनिक गर्ने र फोरममा उठेका प्रश्नमा गभर्नर अधिकारीले जवाफ दिने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

‘बिग्रँदो आर्थिक स्थिति सुधार्न केन्द्रीय बैंकको अबको भूमिका के कस्तो रहन्छ, के गर्छ रु भन्ने सवालमा उक्त फोरममै प्रश्न उठ्ला । बढेको ब्याजदर घटाउन, वित्तीय सुधारका खातिर केन्द्रीय बैंकले अपनाउने नीतिहरूको बारेमा समेत गभर्नर साबले सोही फोरममा विचार राख्नुहोला’ स्रोतले भन्यो, ‘तर आजको विशेष भनिएको पत्रकार सम्मेलन ८ महिनाको वास्तविक आर्थिक स्थितिको रिपोर्ट सार्वजनिक गर्ने कार्यक्रम नै हो’ स्रोतको दाबी छ ।

तर, यता बजारमा समस्याग्रस्त आर्थिक स्थितिका बाबजुद गभर्नर अधिकारीले आज डाकेको आकस्मिक पत्रकार सम्मेलनले आर्थिक सुधारका खातिर केहीँ खास रणनीति लिने अपेक्षा गरिएको छ । बैंक ब्याजदर घटाउने, आयात निर्यातको रणनीतिमा केही फेरबदल गर्ने र वित्तीय औजारहरूको परिचालनमार्फत वित्तीय सहजीकरणका लागि केन्द्रीय बैंकले केही अप्रिय निर्णय समेत लिन सक्ने अपेक्षा गरिएको छ ।